ऊर्जामन्त्री राधा ज्ञवालीले मुलुकमा समृद्धिका लागि आर्थिक विकास, आर्थिक विकासका लागि औद्योगिक विकास र औद्योगिक विकासका लागि पर्याप्त ऊर्जा आवश्यक रहेको बताउनुभएको छ ।
रुपन्देही उद्योग सङ्घको आयोजनामा आजदेखि बुटवलमा सुरु भएको १३ औँ राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा कृषि तथा पर्यटन महोत्सव २०७१ को उद्घाटन गर्दै मन्त्री ज्ञवालीले आर्थिक समृद्धितिर देशलाई लम्काउन सकेसम्म सहमतिमा नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले स्थानीय निकाय जनप्रतिनिधिविहीन हँुदा जनताका प्रत्यक्ष सरोकारका कामसँगै विकास निर्माणका काममा समेत समस्या देखिएकाले सहमति गरेर स्थानीय निकायको निर्वाचन पनि गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता सूर्यप्रसाद प्रधानले महोत्सवले औद्योगिक विकास तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, राष्ट्रिय अर्थतन्त्रको विकास गरौँ’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव यही पुस २१ गतेसम्म चल्नेछ । रासस