कास्की, १६ माघ । प्रतिस्पर्धी बजारलाई ध्यानमा राख्दै पोखरामा संयुक्त लगानीमा व्यवसाय सञ्चालनको थालनी भएको छ । बढ्दो लागत, गुणस्तरीय उत्पादन र सुविधा तथा संयुक्त लगानीमा कम जोखिम हुने भएकाले व्यवसायीहरु एकलको सट्टा संयुक्त लगानीप्रति आकर्षित भएका हुन् ।
अहिले पोखरामा रु एक अर्ब छ करोडको संयुक्त लगानीमा पोखरा ट्रेड मल एण्ड हाउजिङ प्रालिको नामबाट सुविधा सम्पन्न टे«ड मलको निर्माण अन्तिम चरणमा पुगेको छ । युनाइटेड गोल्ड मार्ट प्रालिको नाममा देशैभर सुन र चाँदीको कारोबार गर्ने पसल खुलेका छन् । त्यतिमात्र नभएर स्तरीय होटल, मासु व्यवसाय र सुपर मार्केटमा पनि संयुक्त लगानीको थालनी भएको छ ।
पोखरा ट्रेड मल प्रालिका प्रबन्ध निर्देशक तथा पोखरा उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेका अनुसार अहिलेको जमानामा सानो पुँजीले कुनै काम नहुने भएकाले संयुक्त लगानीको अवधारणा अगाडि आएको हो । “धेरैको विचार मन्थन गर्दा सही विचार निस्कन्छ, विश्वसनीयता बढ्छ र वित्तीय संस्थाहरु पनि लगानीका लागि उत्साहित हुन्छन्” – उहाँले थप्नुभयो – “धेरै साथी हुँदा प्रचार पनि बढी र एउटा हात नभए पनि अर्को हात हुने अवस्था रहन्छ ।”
ट्रेड मलको सफलताबाट उत्साहित भएर अहिले आफूहरुले सामूहिक रुपमै रु पाँच करोडको लगानीमा ग्रोसरी सप र रु एक करोडको लगानीमा रेष्टुराँसमेत खोल्न लागेको उहाँले बताउनुभयो । उहाँहरुले पोखरा ट्रेड मलका लागि माछापुच्छे« बैंकबाट रु २७ करोड ‘कन्सोन्टियम लोन’ लिएको बताउने उहाँले वित्तीय संस्थाहरुले समेत संयुक्त लगानीकर्तालाई प्रोत्साहित गर्ने गरेको जानकारी दिनुभयो ।
बजारमा प्रतिस्पर्धा बढ्दै गएपछि यहाँका परम्परागत व्यावसायिक घरानाहरुले आफन्त र नातेदारलाई नै साझेदार बनाउँदै व्यवसाय विस्तार गरे पनि नयाँ पुस्ता भने ‘असल साझेदार’ सँग साझेदारी गर्दै विभिन्न क्षेत्रमा करोडौँ लगानी गर्न तयार भएका हुन् । पोखरामा पृथ्वी राजमार्गको सुरुवातसँगै भूतपूर्व सैनिक सङ्घको नाममा बस व्यवसायमा संयुक्त लगानी प्रयासको थालनी भएको थियो ।
सिटी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीका अनुसार व्यवसायीहरुले प्रतिस्पर्धी क्षमताको विकास गराउन यस्तो लगानीले फाइदा पु¥याउने धारणा राख्नुभयो । बैंकहरुले उत्पादनशील क्षेत्रमा गरिने लगानीलाई सधैँ प्रोत्साहन गरेको जनाउँदै उहाँले अनुत्पादक क्षेत्रमा गरिने संयुक्त लगानीको प्रतिफल भने डरलाग्दो हुने चेतावनी दिनुभयो । अहिले फेरि रियलस्टेट क्षेत्रमा ठूलो मात्रामा संयुक्त लगानी बढ्न थालेकोतर्फ उहाँको चिन्ता थियो ।
यता संयुक्त लगानीमा पोखराको महतगौँडामा संयुक्त लगानीमा हिमालयन मिट प्रालि नामक मासु प्रशोधन केन्द्र स्थापना गर्नुभएका तेजबहादुर भट्टराईले संयुक्त लगानीले उत्पादनशीलता बढाउन मद्दत गर्ने भएकाले आफूहरु संयुक्त लगानीतर्फ आकर्षित भएको बताउनुभयो । लामो समयदेखि पोल्ट्री व्यवसायमा संलग्न उहाँकै अगुवाइमा तीन दर्जन व्यवसायीहरुको रु सात करोड लगानीमा सो मासु उत्पादन तथा प्रशोधन केन्द्र स्थापना भएको हो । त्यहाँ अहिले झन्डै ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
“साना उद्योग वा व्यवसायले भन्दा ठूलाले नै उत्पादन र रोजगारी दुवै बढी दिने हुनाले अब ठूला परियोजनाबारे सोच्नुपर्छ” – उहाँले भन्नुभयो – “त्यसैले संयुक्त लगानीको आवश्यकता परेको हो ।” पोखरामा थकालीहरुले सानो रेष्टुुराँदेखि खाना खुवाउने होटलसम्म पनि संयुक्त लगानीमा सञ्चालन गर्दै आएका छन् । लामो विदेश बसाइपछि पोखरामा मुस्ताङ थकाली किचन नामक रेष्टुराँ खोलेर व्यवसाय गर्दै आएका वसन्त गौचनका अनुसार आपसी समझदारीमा गरिने संयुक्त लगानी सफल हुने सम्भावना बढी हुन्छ । रासस