बजेट विनियोजन

अर्थ​

काँकडभिट्टा (झापा), १८ जेठ । दक्षिणी क्षेत्रका गाविसको सडकको स्तरोन्नतिका लागि चालु आवमा रु एक अर्ब २१ करोड ९१ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

उक्त क्षेत्रका सांसद कृष्णप्रसाद सिटौलाको पहलमा राष्ट्रिय योजना आयोगबाट उक्त रकम विनियोजन गरिएको हो । सो रकमबाट पथरीया–सुकुनाडाँगीदेखि केराबारीसम्म १० किलोमिटर सडक रु ३० करोड ४२ लाख तथा केचनाकबल हँुदै पथरियासम्मको रिङरोड कालोपत्रे गर्नका लागि रु २६ करोड ३८ लाख रकम विनियोजन गरिएको सिटौलाका स्वकीय सचिव प्रेमविक्रम भट्टराईले जानकारी दिनुभयो ।

यस्तै बालुवाडी चन्द्रमणि राजमार्गदेखि वार्ड नं २ सम्मको बाटो मर्मत गर्न रु नौ करोड, जलथल–अधिकारी चोकदेखि घेराबारीसम्मको १४ किलोमिटर बाटो कालोपत्रे गर्न रु २६ करोड ६९ लाख र बनियानी सिङ्गीमाडीदेखि बालुवाडीसम्मको १५ किलोमिटर बाटो कालोपत्रे गर्न रु २९ करोड ४२ लाख रकम विनियोजन गरिएको छ ।

बहुवर्षीय योजनामा स्वीकृत भएका यी योजना आव २०७३÷७४ को भदौ महिनाबाट कार्य सुरु गरिने बताइएको छ । आयोगबाट यस क्षेत्रका विभिन्न योजना सम्पन्न गर्न भद्रपुर नगरपालिकालाई रु ५० करोड प्राप्त भएको छ ।