काठमाडौँ, १ कात्तिक- दसैंअघि मुद्दती निक्षेपको ब्याज बढाएका वाणिज्य बैंकहरूले अहिले धमाधम कर्जाको ब्याजदर बढाउन थालेको कान्तिपुरले खबर छापेको छ । निक्षेपको ब्याज बढेपछि पुँजीकोष लागत (कस्ट अफ फन्ड) बढेकाले कर्जाको ब्याजदर पनि बढाउनुपरेको भन्दै ऋणको ब्याज बढाउन लागेका हुन् ।
दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत कर्जाको ब्याज सोमबारदेखि बढ्ने जानकारी दिएका छन् ।
बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ ।
उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर) कर्जाको ब्याजदर १ देखि २ प्रतिशत विन्दुसम्मले बढाएका छन् । यही बाहनामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन् ।
एकै दिन ३/४ वटा बैंकले फोन गरेर ब्याजदर बढ्ने सूचना दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।