पोखरा , १८ कात्तिक ।
पोखराको नयाँ बजारमा रहेको जानकी एग्रो प्रोडक्ट प्रालिले आफ्नो लागानी विस्तार गरेको छ । जानकी एग्रो प्रोडक्ट प्रालि मार्फत स्वादिलो ब्राण्डका खाद्यान्न उत्पादन गर्दै आएकोमा पछिल्लो समय जानकी एग्रो फर्मबाट उत्पादन भएको दुघले समेत बजार लिएको छ । त्यस्तै जानकी फ्रेस हाउस समेत सञ्चालनमा ल्याएको छ । जानकी एग्रो फर्मबाट उत्पादित दुघको नयाँ विक्री केन्द्र र फ्रेसहाउस संगसंगै सञ्चालनमा ल्याएको हो । मासुका लागि मकवानपुरको सिस्नेरीमा बाख्रा फर्म सञ्चालनमा ल्याएको छ ।
झन्डै ३ सय रोपनी क्षेत्रफलमा फैलिएको बाख्रा फारम सञ्चालनका साढे २ करोडको हाराहारीमा लागनी भएको छ । त्यहाँ ६ सय खसी बोका पाल्ने योजना रहेकोमा अहिले २ सय ५० बाख्रा रहेका युवा व्यवसायी एवं जानकी एग्रो सञ्चालक दीपक तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जानकी एग्रो प्रोडक्ट प्रालिमा हाल लगानी साढे ६ करोडको हाराहारीमा पुगेको छ । त्यस्तै जानकी एग्रो फर्ममा ३ करोडको हाराहारीमा लगानी छ । बाख्रा पालनमा साढे ३ करोड लगानी हुने उनले बताए । बिगत १५ बर्षदेखि पोखराको नयाँ बजारमा जानकी एग्रो प्रोडक्ट प्रालि निरन्तर सञ्चालन गरिरहेका तिमिल्सेनाले उक्त एग्रो प्रालिमा सुरुमा २० लाख लगानी गरेको बताए ।
पोखरामा गुणस्तरीय दुघको अभाव देखेको र बजार पनि राम्रो देखेकाले ३ बर्ष अगाडि भैंसी र गाईपालनमा हात हालेको उनले सुनाए । सुरुमा नयाँ बजारमै एग्रो प्रोडक्सनसंगै गाई फर्म सञ्चाल गरेका उनले पोखराको चाउथेमा थप व्यवस्थीत ढंगले भैंसी र गाई पाल्दै आएका छन् । उनको फर्ममा अहिले दैनिक ८ सय देखि ८ सय ५० लिटर दुघ उत्पादन हुने गरेको छ । जसका लागि १ सय ५० को हाराहारीमा भैसी र गाई पालिएका छन् । त्यहीँबाट उत्पादित दुघको थप बजारीकरण गर्दै पोखराको रत्नचोकबाट समेत पछिल्लो समय विक्री आरम्भ भएको छ ।
नाफा भन्दा पनि गुणस्तरीय सेवामा आफूले ध्यान दिएको बताउने तिमिल्सेना भंैसी फर्म सञ्चालन गरेर उत्कृष्ठ सेवा गरेकै कारण पशुपालन तर्फ राष्ट्रपति राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट सम्मानीत समेत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा राजधानीमा उनलाई सम्मान गरेको हो । उनको जानकी एग्रो फर्म मार्फत २१ जनाले रोजगारी पाएका छन् । जानकी एग्रो प्रोडक्ट प्रा.लि मार्फत ५८ जना, बाख्रा फर्ममा १३ जना र थप ४ जनालाई फ्रेसहाउसमा रोजगारी दिदै आएको तिमिल्सेनाले जानकारी दिए ।
मकवानपुरको आम भञ्ज्याङ गाविस स्थायी ठेगाना भएका तिमिल्सेना विगत १८ बर्ष देखि पोखरालाई निरन्तर कर्मथलो बनाएका छन् । उनले सफल बन्न रातारात धनी बन्ने सपना नबोकी निरन्तर काममा दत्तचित्त हुनुपर्ने बताए । आफूले नाफालाई भन्दा गुणस्तरलाई ध्यानमा राखेर जानकी एग्रोप्रोडक्ट, एग्रो फर्म र पछिल्लो समय बाख्रा फर्मका साथै फ्रेसहाउसमा लगानी गरेको उनको भनाई छ । सोदेशमै थोरै लागनी गरेर थोरै श्रम गरेपनि मालिक बनिने र विदेशमा गएर जती नै मेहनत गरेर पसिना बगाएपनि नोकर बनिने हुँदा यहीँ स्वरोजगार हुँदै मालिक बन्न उनले युवाहरुलाई सल्लाह समेत दिएका छन् ।