मुस्ताङमा स्याउ उत्पादन १० प्रतिशतले वृद्धि

मुस्ताङमा  स्याउ उत्पादन १० प्रतिशतले वृद्धि
अर्थ​

यस वर्ष मुस्ताङमा स्याउ उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन १० प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष मुस्ताङमा ४ हजार ५ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकूल मौसम, रोग, किराको समस्या कम भएको र नयाँ बोट थपिएकाले उत्पादन बढेको कार्यालयका योजना अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए ।
मुस्ताङको कोवाङ, टुकुचे, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको १ हजार १ सय १५ हेक्टरमा स्याउ खेती गरिएको छ । करिब ३ सय ७० हेक्टरमा लगाइएको बोटले फल दिने गरेको छ ।

गत वर्ष २३ करोड रुपैयाँ बराबरको २ हजार २ सय मेट्रिक टन स्याउ मुस्ताङबाट निकासी भएको थियो । अधिकांश बगैंचामा फलेका स्याउ व्यापारीले अग्रिम पैसा दिएर खरिद गरिसकेका छन् । बेनी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवनलगायत जिल्लाबाट व्यापारी आएर बगैंचाबाट टिप्नुअघि नै बोटमै खरिद गर्ने गरेका थासाङ गाउँपालिका–१ टुकुचेका निरज तुलाचनले बताए ।

भदौको अन्तिम सातादेखि स्याउ टिप्दा उपयुक्त हुने भए पनि कतिपय व्यापारीले पाक्नुअघि नै स्याउ बजार पु¥याउन थालेका छन् । रासायनिक मल र विषादीको प्रयोग नगरिएको, स्वच्छ वातावरणमा उत्पादित मुस्ताङको स्याउले बजार पाएको छ ।

Post Comment