वर्ष दिनमा पनि सटही भएनन् प्रतिबन्धित भारतीय नोट

वर्ष दिनमा पनि सटही भएनन् प्रतिबन्धित भारतीय नोट
अर्थ​

नेपालका ब्यांकहरुमा रहेका पाँच सय र हजार दरका पुराना भारतीय रुपियाँ मात्रै भए पनि साटिदिन अनुरोध गर्दै नेपाल राष्ट्र ब्यांकले पठाएको प्रस्तावको जवाफ तीन महिना वित्दापनि भारतीय केन्द्रीय ब्यांकले नदिएकोमा नेपाली अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

यसअघि ब्यांकमा रहेका ती अवैध घोषित नोट तथा नेपाली सर्वसाधारणसंग रहेका त्यस्ता नोट एकैपटक सटही गरिदिन नेपाली पक्षले अडान राख्दै आएको थियो।

तर भारतीय अधिकारीहरुले पहिले ब्यांकमा रहेका नोट मात्र सटही गरिदिने आशय राखेपछि नेपाली अघिकारीहरुले पछिल्लो प्रस्ताव पठाएका थिए।

ठिक एक वर्ष अगाडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र हजार दरका भारु प्रतिबन्धित घोषणा गरेका थिए।

चासो नदेखाएको

मोदी सरकारले गैरकानूनी धन र नक्कली नोट नियन्त्रण गर्न भन्दै एक वर्ष अघि अप्रत्यासीत रुपमा ५ सय र एक हजारका भारतीय रुपियाँको चलनचल्ती बन्द गर्‍यो।

त्यस यता नेपालमा रहेका त्यस्ता प्रतिबन्धित नोट साट्न भारतीय र नेपाली पक्षबीच विभिन्न चरणमा छलफल भए।

नेपाली पक्षले सर्वसाधारणलाई २५ हजारसम्म त्यस्ता नोट राख्न दिइने भारतीय नियम अनुसारै उनीहरुलाई त्यतिकै सीमा मा पुराना नोट साट्न दिन भनेको थियो।

तर त्यसमा भारतले चासो नदेखाएपछि नेपाली ब्यांकमा रहेका केही करोड प्रतिबन्धित भारतीय रुपियाँ मात्रै भए पनि शुरुमा साटिहाल्ने ‌औपचारिक प्रस्ताव नेपालले पठाएको नेपाल राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रमेश पोखरेल बताउँछन्।

उनले भने “हामीले शुरुमा हाम्रा ब्यांकहरुमा रहेका प्रतिबन्धित भारतीय रुपियाँ सटही गर्ने भन्ने सहमती भएको हो। तर उहाँहरुले ( भारतीय पक्ष) गरेको मौखिक प्रतिबद्धता अनुसार काम गर्नु भएको छैन।”

भारतकै नियम अनुसार पनि वैध रुपमा थुप्रै नेपाली सर्वसाधारणले आफ्ना साथमा राखेका भनिएका अर्बौं परिमाणका त्यस्ता भारुको सटही बारे त झन् अचेल कुरै उठ्न छाडिसकेको देखिन्छ।

एक त त्यस्तो रकमको परिमाण बारे यकीन आँकडा पाइंदैन भने अर्कोतिर धेरैले आफ्नै आफन्त तथा साथीभाइको सरसहयोगमा त्यस्ता नोट व्यवस्थापन गरिसकेको पनि ठानिन्छ।

जे होस् भारतले औपचारिक रुपमा यस बारे सहयोग नगरेकोमा भने नेपाली अधिकारीहरु असन्तुष्ट पाइन्छन्।

भारतीय केन्द्रीय ब्यांक रिजर्भ ब्यांक अफ इन्डियाले उसको वार्षिक विवरण प्रतिवेदनमा प्रतिबन्धित नोटहरु मध्ये अधिकांश भारतीय ब्यांकहरुमा फिर्ता भइसकेको जनाएको छ।

नेपालमा भने नोटबन्दीका कारण शुरुमा विशेष गरी व्यापारमा केही समस्या देखिए पनि हाल यसको परिणाम समग्र रुपमा सकारात्मक देखिन थालेको राष्ट्र ब्यांकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी बताउँछन्।

उनले भने, “यसले बीजकहरु बनाउँदा पैसा तलमाथि गर्ने चलन कम भएको छ। त्यस्तै भारत जाने नेपालीहरुले डिजिटल कार्ड प्रयोग गर्न र त्यसैमार्फत पैसा भुक्तानी गर्ने क्रम बढेकाले भारु नगदको प्रयोग कम गर्न प्रोत्साहन भएको छ।”

यसबीच भुटानका ब्यांकहरुमा रहेका प्रतिबन्धित भारतीय रुपियाँ केही समय अघि सटही गरिएको समाचार आएका छन्।

तर नेपालीहरुसंग अझै बाँकी रहेका त्यस्ता भारु भने कागजको खोष्टामा परिणत हुने हो कि भन्ने चिन्ता धेरैले व्यक्त गरेका छन्।

Post Comment