अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनाममा भइरहेको एसिया प्यासिफिक इकोनोमिक कोअपरेशन (एपेक)को शिखर सम्मेलनमा बोल्दै अमेरिकाले आफूविरुद्ध व्यापारमा हुने अन्यायलाई नसहने बताएका छन्।
उनले पारस्परिक लाभमा आधारित व्यापारमा प्रतिबद्धता जनाउने एपेक राष्ट्रहरुसँग मिलेर काम गर्न अमेरिका तयार भएको बताए।
उनले अबदेखि अमेरिकाले व्यापारमा आफूलाई लाभ नहुने गरी कुनै सम्झौता नगर्ने बताए।
एशिया भ्रमणका क्रममा उनले चीन र जापानसँग देखिएको ठूलो परिमाणको व्यापार असन्तुलन अन्त्य गर्ने वाचा गरेका छन्।
प्रशान्त क्षेत्रका २१ अर्थतन्त्र एपेकको छातामुनी छन् जसले विश्वको कुल गार्हस्थ उत्पादनको ६० प्रतिशत समेट्छ।
राष्ट्रपतिमा चुनिएपछि ट्रम्पले आफ्नो देशको आर्थिक स्वार्थमा हानी पुर्याइरहेको भन्दै ट्रान्स प्यासिफिक पार्टनरशिप भनिने एपेकका १२ वटा देशसँग गरिएका एउटा प्रमुख व्यापार सम्झौता रद्द गरेका थिए।
डानाङ नामक भियतनामी बन्दरगाह शहरमा भइरहेको शिखर सम्मेलनलाई चिनियाँ राष्ट्रपति सि जिनपिङले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
बीबीसी संवाददाता जोनाथन हेड भन्छन्, पछिल्लो ३ दशकयता एपेकमा अमेरिकाले विश्वका सर्वाधिक चलायमान अर्थतन्त्रलाई खुल्ला व्यापार र सुदृढ व्यापार सम्बन्धमा डोर्याउने भूमिका निर्वाह गर्दै आएको थियो।
तर अमेरिकाले बढी नाफा पाउनुपर्ने राष्ट्रपति ट्रम्पको निरन्तरको जोडले उक्त अवस्थामा परिवर्तन ल्याइदिएको थियो।
ट्रम्पले एशिया प्रशान्त क्षेत्रको दशकौं यताको आर्थिकवृद्धिले अमेरिकी कम्पनीलाई नोक्सान पुर्याइरहेको भन्दै बरु त्यसले चीन, भियतनाम जस्ता देशलाई उत्पादनको केन्द्र बनाइदिएको धारणा राखेका छन्।
डानाङमा व्यापारिक नेताहरु सामु गरिएको राष्ट्रपति ट्रम्पको सम्बोधनलाई विगतका अमेरिकी नेताहरुले एशिया प्रसान्त क्षेत्रमा अख्तियार गरेका नीति अब कसरी उनको देशले अघि बढाउँछ भनेर व्याख्या गर्ने मौकाका रुपमा हेरिएको छ।
तर कतिपय सदस्य राष्ट्रहरुले अमेरिका विना पनि व्यापार सम्पर्क सुधार गर्ने उपायहरुको पनि खोजी गर्ने प्रयास अघि बढाएका छन्।
एशियामा सैनिक र कुटनीतिक प्रभुत्व कायम गरिरहेको अमेरिकाको प्रमुख प्रतिस्पर्धी चीनले अमेरिकाबाट आर्थिक नेतृत्व पनि आफ्नो हातमा लिने चाहना स्पष्ट पारिसकेको छन्।