दक्षिण एसियाली आर्थिक सम्मेलन सुरु

दक्षिण एसियाली आर्थिक सम्मेलन सुरु
अर्थ​

दशौं दक्षिण एसियाली आर्थिक सम्मेलन राजधानीमा सुरु भएको छ ।

मंगलबारदेखि काठमाडौंमा सुरु सम्मेलनमा दक्षिण एसियाली क्षेत्रको समावेशी एवं दीर्घकालीन आर्थिक विकासका लागि चालिनुपर्ने नीतिगत सुधार एवं अन्य विषयमा गहन छलफल हुने जनाइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय आर्थिक विकासमा सबैको उत्तिकै सहभागिता एवं समन्वयमा जोड दिए ।

उनले नेपाल संविधान कार्यान्वयनको चरणमा रहेको भन्दै प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनपछि नेपालको आर्थिक विकास द्रुतगतिमा हुने विश्वास व्यक्त गरे ।

भुटानका अर्थमन्त्री लेन्पो लेके दोर्जेले यस क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्न अतिआवश्यक रहेको बताए । निजी क्षेत्रको सहभागिताबिना केही हुन नसक्ने उनको भनाइ थियो ।

उनले यस क्षेत्रमा ऊर्जाको धेरै सम्भावना भएपनि त्यसको सदुपयोग हुन नसकेको बताए ।

माल्दिभका अर्थ राज्यमन्त्री अब्दुल लतिफ मोहम्मदले क्षेत्रीय आर्थिक विकासका लागि हवाई सञ्जाल विस्तारमा जोड दिए । पर्यटनको माध्यमबाट पनि धेरै आर्थिक विकास गर्न सकिने उनको भनाइ थियो ।

यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले यस क्षेत्रबीचको आर्थिक सम्बन्धलाई विस्तार गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।

तीनदिने सम्मेलनमा चारओटा ‘प्लेनरी सेसन हुनेछन् भने १४ ओटा विभिन्न विषयमा छलफल हुने उनले जानकारी दिए ।

सम्मेलनमा २०० जना नेपालीसहित यस क्षेत्रका विज्ञहरुको सहभागिता रहेको जनाइएको छ ।

Post Comment