अमेरिकी राष्ट्रपति ट्रम्पको कम्पनी घर किन्ने ग्राहक खोज्दै नेपालमा

अमेरिकी राष्ट्रपति ट्रम्पको कम्पनी घर किन्ने ग्राहक खोज्दै नेपालमा
अर्थ​

२४ डिसेम्बर २०१७ को बिहान काठमाडौंका फेसबुक प्रयोगकर्ताबीच एउटा फरक प्रायोजित सामाग्री देखियो। घरको तस्बिरसहित आएको त्यो स्पोन्सर पोष्टले दुवईको अन्तर्राष्ट्रिय गल्फ समुदायभित्र विलाशी जीवन यापन गर्न अपिल गरेको थियो।

दमाक हिल्सले निर्माण गरेका विलाशी घर बिक्रीका लागि मार्केटिङ गर्ने क्रममा सो पोष्ट काठमाडौंबासी नेपालीबीच आइपुगेको हो। सामाजिक सञ्जालमा काठमाडौं केन्द्रित विज्ञापन गरेर दुवईको दमाक हिल्सले ४१ करोड रुपैयाँसम्म पर्ने विलाशी घर बेच्न ग्राहक खोजिरहेको थियो।

दमाक हिल्सका प्रबद्र्धक हुन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

‘दुबई महानगरको व्यस्तताबीच शान्त जीवनको खोजी गर्नुहोस्। एउटा अन्तर्राष्ट्रिय गल्फ समुदायभित्र सुन्दर शैलीमा डिजाइन गरिएका आरामदायी घरहरुको अनुभव लिनुहोस’, डिसेम्बरको अन्त्य एवं जनवरीको पहिलो सातासम्म दमाक हिल्सले नेपालीलाई लक्षित गर्दै फेसबुकमा विज्ञापन गर्दै अाह्वान गरिरह्यो।

काठमाडाैंमा गरिएकाे विज्ञापन

विज्ञापनअनुसार सो घरको मूल्य २ करोड ७२ लाख रुपैयाँ (९ लाख ९९ हजार ९९९ युएई दिराम) पर्नेछ।

पछिल्लो मानव विकास प्रतिवेदनअनुसार नेपालको प्रतिव्यक्ति आय वार्षिक ८६२ डलर मात्र छ। तर दुवाईमा ट्रम्पको कम्पनीले निर्माण गरेका करोडौं मूल्यका घर किन्ने हैसियतका नेपाली पनि नभएका होइनन्। दमाक हिल्सको मार्केटिङ टोलीले नेपालमा धनाढ्यहरु समेत रहेको निष्कर्ष निकाल्दै काठमाडौं केन्द्रित विज्ञापन गरेको जनाएको छ।

‘नेपालको व्यापारिक समुदायले दमाक हिल्सका आरामदायी घरहरु किन्न सक्छ भन्ने हाम्रो अनुसन्धानले देखाएको छ’, दमाक प्रोपर्टिजको मिडिया सेन्टरले  च्याटमा जवाफ फर्काउँदै भनेको छ, ‘विश्वभरिकै व्यापारिक समुदाय र आरामदायी घर चाहनेहरुका लागि हामी उत्कृष्ट छनौट हुन सक्छौं।’

नेपालीलाई लक्षित गरेर बेच्न खोजिएका घरहरु दुई करोड ७२ लाख २४ हजार रुपैयाँ पर्ने किसिमका हुन्। यी घरहरु दमाक हिल्स सेरिजका सबैभन्दा सस्तो रेञ्जका हुन्। कम्पनीको वेबसाइटअनुसार उच्च मूल्यका अन्य घरहरु झन्डै ४१ करोड (४० लाख अमेरिकी डलर) सम्म पर्छन्।

गत वर्ष सञ्चालनमा आएको ट्रम्प अन्तर्राष्ट्रिय गल्फ क्लब केन्द्रमा रहेको दमाक हिल्सले ४ हजार यस्ता आरामदायी घर निर्माण गरी बिक्री गरिरहेको छ। कम्पनीले केही अघि एकै पटक दुई वटा विलाशी घर किन्नेलाई एउटा मर्सिडिज बेञ्ज कार उपहार दिने स्किम समेत ल्याएको थियो।

विलाशी घर निर्माणमा नेपालीका पसिना
दमाकले विकास गरेका रियल स्टेट परियोजनाका घर निर्माणमा नेपाली पसिना प्रयोग भएको छ। विश्वका धनाढ्यलाई लक्षित गरी बनाइएका ती घर निर्माणको काम नेपालीहरुले गरेका हुन्। दमाक हिल्स वा ट्रम्प अर्गनाइजेशनले उनीहरुलाई रोजागरी दिएको भने होइन।

मजदूर आपूर्तिकर्ता कम्पनी अल अरिफ एवं चिनियाँ ठेकेदारहरुले नेपालीलाई निर्माण मजदूरको रुपमा दमाक हिल्समा रोजगारी उपलब्ध गराएका हुन्।

‘दमाक हिल्सको कन्स्ट्रक्सनमा धेरै नेपालीहरु काम गर्छन्’, दुवईस्थित नेपाली पत्रकार नारायण भुर्तेल भन्छन्, ‘मजदूर आपूर्तिकर्ता ठेकेदारहरुले नेपालीलाई काममा लगाउने गरेका छन्।’

ट्रम्पकाे साझेदारी हुसेनसँग 

दमाक दुवई आधारित ग्लोबल रियल स्टेट कम्पनी हो। युएईका अर्बपति हुसेन सजवानीको यो कम्पनी अहिले आबुधावी, कतार, बेलायत, साउदी अरेबिया, जोर्डन एवं लेबनानमा आफ्ना ठूला रियल स्टेट परियोजना निर्माण गरिरहेको छ। दमाक हिल्समा हुसेनका साझेदार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन्।

विश्वका अर्बपतिहरुको सूचीमा रहेका हुसेन ‘अरब वल्र्ड’ का शीर्ष १० धनाढ्य भित्र पर्छन्। तेल कारोबारी समेत रहेका उनको सम्पत्ति ५ खर्ब रुपैयाँभन्दा बढी छ। फोब्र्सले सन् २०१७ मा गरेको विश्वका रियल स्टेट कम्पनीको ¥याङकिङमा दमाक एक नम्बरमा परेको थियो।

दमाक हिल्स अमेरिकाका धनाढ्या राष्ट्रपति ट्रम्पको छाता कम्पनी ट्रम्प अर्गनाइजेशनको व्यापारिक साझेदार हो। न्युयोर्क मुख्यालय रहेको ट्रम्प अर्गनाइजेशनका मुख्य व्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन्। यो कम्पनीका विश्वभरि करिब ५ सय भातृ कम्पनीहरु रहेका छन्।

डोनाल्ड ट्रम्प गत वर्ष राष्ट्रपतिमा निर्वाचित भएपछि उनकी जेठी श्रीमती इभानातिरका छोराहरु इरिक र डोनाल्ड ट्रम्प जुनियरले पिताको व्यापार सम्हाल्दै आएका छन्। ट्रम्प पुत्रहरु व्यापारिक साझेदार हुसेन सजवानीको दुवईस्थित घरमा समेत आउजाउ गर्छन्।

व्यापारिक कारोबार एवं पारिवारिक जमघटहरुमा पनि ट्रम्प र हुसेन परिवारबीच गहिरो मित्रता छ।

दमाककै भातृ कम्पनीको रुपमा ट्रम्प लगानीको दमाक हिल्स दुवई ल्यान्डमा निर्माणाधीन छ। उच्च आरामदायी यो रियल स्टेट परियोजना ४२ मिलियन स्क्वायर मिटरमा फैलिएको छ। यसभित्र लक्जरी भिल्ला तथा अपार्टमेन्ट निर्माण गरिँदैछन्, जुन परियोजनाभित्र गल्फ कोर्स समेत रहेको छ

 

-नेपालखबरबाट

Post Comment