नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको असन्तुलित र कमजोर नेतृत्वका कारण पछिल्लो समय संकटमा फस्दै गएको महासंघको सांगठानिकरुपमा समेत थप कमजोर हुने भएको छ ।
महासंघमा पछिल्लोकाल केही निश्चित समूहको मनोमानी चलेसंगै असन्तुष्टहरुले समानान्तर संगठन बिस्तारमा ध्यान दिएपछि निजी क्षेत्रको छाता संगठन मानिएको यो संस्था धराशायी बन्नेतर्फ उन्मुख भएको छ ।
भवानी राणाले उद्योगी–ब्यवसायीको हितमा प्रभावकारी भूमिका नखेलेपछि पछिल्लो समयमा कमजोर नेतृत्वको सर्वत्र आलोचना भइरहेको बेला एकपछि अर्को गर्दै काउण्टर दिने संस्थाहरु हरेक प्रदेश र जिल्लासम्म बिस्तार हुने थालेका छन् ।
प्रतिष्ठित उद्योगीहरुको सुझावका आधारमा नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले आफूलाई देशव्यापी बनाउने गरी गरेको विधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदबाटै पारित भएर कार्यान्वयनमा अघि बढिसकेको छ ।
भवानी राणा समूहले महासंघलाई निजी क्लब बनाएपछि रुष्ट उद्योगी–व्यवसायीहरु नेपाल चेम्बर अफ कमर्सलाई बलियो संगठन बनाउनेतिर लागेका छन् । चेम्बरले आफ्नो पुरानो संगठनात्मक संरचनामा परिवर्तन गरी महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलाई मानार्थ उपाध्यक्ष तथा जिल्ला नगर संघका उपाध्यक्ष प्रमोद श्रेष्ठलाई प्रदेश संयोजकको जिम्मेवारी दिएर नया“ संरचना तयार गरेको कुरा सार्वजनिक भएसंगै यसले निजी क्षेत्रको छाता संगठन मानिएको महासंघभित्र भूकम्प ल्याइदिएको छ । यस्तै, चेम्बरलाई महासंघका अधिकांश पूर्व अध्यक्षहरुको साथ रहेको सुइँको पाएपछि महहासंघको नेतृत्व अत्तालिएर छटपटीमा परेको खबर छ ।
जिल्ला/नगर उद्योग वाणिज्य संघहरु स्वतन्त्र भएकाले महासंघमा आबद्धहरु चेम्बर अफ कमर्सप्रति आकर्षित हुन थालेपछि अब महासंघ नै रित्तिने अवस्था समेत नआउला भन्न सकिन्न । सायद यही डरका कारण मन्त्रिपरिषदको स्वीकृति लिएर अगाडि बढेको आफूभन्दा १२ वर्ष जेठो संस्था चेम्बर अफ कमर्सलाई महासंघले स्पष्टीकरण सोध्ने दुष्साहस समेत गरेको थाहा भएको छ ।
अहिले महासंघ र चेम्बरका अधिकारीबीच शितयुद्ध सुरु भइसकेको ब्यवसायीहरु बताउछन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चेम्बरले मन्त्री र सचिवलाई उपस्थित गराएर कार्यक्रम गरिदिएपछि र महासंघले चाहिं सहसचिवलाई मात्र उपस्थित गराउन सकेपछि यसले जिल्ला–जिल्लामा महासंघ कमजोर बनिसकेको सन्देश प्रवाह भएको कतिपयको दाबी छ । महासंघकी अध्यक्ष भवानी राणा र उनले बनाएको किचन क्याबिनेटको असन्तुलित र खराव नियतले गर्दा महासंघ नेपाल सरकार र उद्योगी–ब्यवसायीबाट अलग थलग भएको छ । यसै सिलसिलामा २०७४ माघ १५ गते नेपाल चेम्बर अफ कमर्शको नव निर्वाचित नेतृत्वलाई नेपालको नम्बर एक पार्टी एमालेले धुम्रबराहीस्थित हेडक्वार्टरमा सम्मान गरेर मान्यता दिएको छ ।
परिसंघको अर्को काउण्टर
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष र पदाधिकारीको मनोमानीविरुद्ध विद्रोह गरेर कुनै बेला उद्योगपति विनोद चौधरीले छुट्टै संगठनको रुपमा नेपाल उद्योग परिसंघ(सीएनआई) गठन गरे । ‘निजी क्षेत्रलाई आपत्तविपत् परेको बिषयमा बोल्ने र समस्या समाधानका लागि पहल गर्ने बिषयमा महासंघको नेतृत्व प्रदीप जंग पाण्डे, पशुपति मुरारकाको पालादेखि नै कमजोर देखिदै आएको थियो ।’ एक वरिष्ठ उद्योगीले भने–‘विधान संशोधन गरेर भवानी राणालाई रविभक्त श्रेष्ठलगायतले अध्यक्ष बनाएपछि त महासंघ एउटा क्लबमा रुपान्तरण हुन पुगेको छ ।’
कमजोर बनेको महासंघलाई चेम्बरले काउण्टर दिएर तनाव थपिदिएको बेला नेपाल उद्योग परिसंघले समेत अर्को काउण्टर दिने गरी मन्त्रिपरिषदबाटै प्रादेशिकरुपको सांगठनिक संरचना अनुसार अघि बढ्नका लागि स्वीकृति पाएको छ । यसको अर्थ जिल्ला तथा नगरका उद्योगी व्यवसायीले अब संगठनमा आबद्धताका लागि उद्योग वाणिज्य महासंघको विकल्पको रुपमा चेम्बर अफ कमर्स र उद्योग परिसंघलाई पाएका छन् । परिसंघले समेत प्रदेश संयोजकहरु तोक्दै उद्योग वाणिज्य महासंघमा क्रियाशील कतिपयलाई आफ्नो संगठनमा तानिदिएपछि अब यसले महासंघको असन्तुलित कमजोर नेतृत्वमाथि चुनौती थपिदिएको छ ।
महासंघलाई यता पनि धक्का !
उद्योग परिसंघले महासंघमा आवबद्ध कतिपय उद्योगी–ब्यवसायीहरुलाई आफ्नो संगठनमा समेटेको छ । भवानी राणाका विशेष सहयोगी तथा महासंघकै पूर्व अध्यक्ष रविभक्त श्रेष्ठका छोरा रविन्द्रभक्त श्रेष्ठ समेत परिसंघमा आबद्ध भएका छन् । त्यस्तै महिला उद्यमीहरुमध्येबाट छायाँ शर्मा र रिता भण्डारी मनोनीत भएका छन् । त्यस्तै, विभिन्न उद्योगी व्यवसायीको तर्फबाट आशिष गर्ग, हेमन्त गोल्छा, मनिष खेम्का, ऋषि घिमिरे, शरद तिवडेवाला, शिशिर भट्ट र सुधीर मित्तल मनोनीत भएका छन् ।
परिसंघले चेम्बर र महासंघको जस्तै संरचना खडा गर्दै ‘प्रदेश परिसंघ’को गठन सातवटै प्रदेशमा गर्ने गरी प्रत्येक प्रदेशमा एक/एकजनालाई संयोजक तोक्ने निर्णय सहित प्रदेश संयोजक समेत मनोनयन गरेको छ । यसरी प्रदेश संयोजकमा मनोनयन हुनेहरुमा महासंघमा आबद्धहरु नै रहेका छन् । जसमा प्रदेश १ का लागि मीनप्रकाश मैनाली (झापा), प्रदेश २ का लागि नरेश दास(जनकपुर), प्रदेश ३ का लागि ऋषि घिमिरे(हेटांैडा), प्रदेश ४ का लागि विनोद न्यौपाने(पोखरा), ५ का लागि एजाज आलम(बुटवल), ६ का लागि टेकबहादुर भण्डारी(सुर्खेत) र ७ का लागि हेमबिक्रम थापा(कञ्चनपुर) रहेका छन् ।