अमेरिकी व्यापारिक साझेदारहरू क्रुद्ध :इयु ,चीन र क्यानडाले कडा कदम चाल्ने

अमेरिकी व्यापारिक साझेदारहरू क्रुद्ध :इयु ,चीन र क्यानडाले कडा कदम चाल्ने
अर्थ​

संयुक्त राज्य अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूले स्टील र एलुमिनियम धातुको आयतमा कर लगाउने राष्ट्रपति ट्रम्पको निर्णयप्रति क्रुद्ध प्रतिक्रिया दिएका छन्।

युरोपेली संघ(इयु) र क्यानडाले आफूहरूले पनि जवाफी कदमहरू चाल्ने बताएका छन्।

 Credit Alexander Koerner/Getty Images

राष्ट्रपति ट्रम्पको घोषणा पछि अमेरिकाको डाउ जोन्स परिसूचक डेढ प्रतिशत भन्दा बढीले घटेर बन्द भएको थियो।

त्यसअघि ट्रम्पले आगामी साता आफूले स्टिलका उत्पादनहरूमा २५ प्रतिशत र एलुमिनियमका सामाग्रीहरू १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

युरोपेली आयोगका अध्यक्ष जाँ कल्ड युंकरले अमेरिकी कदमले हजारौं युरोपेलीहरूको रोजगारीलाई जोखिममा पार्ने बताए।

उनले इयु त्यसै चुप लागेर नबस्ने पनि प्रतिक्रिया दिएका छन्।

मेक्सिको र चीनले पनि प्रत्युत्तरमा चाल्ने कदमबारे सोचिरहेको बताएका छन्।

 

आलोचकहरूले थप कर लगाउने निर्णयले अमेरिकी रोजगारीलाई संरक्षण गर्न नसक्ने र अन्तत: उपभोक्ताहरूले नै त्यसको मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन्।

वरिष्ठ रिपब्लिकन संसद पल रायनका एक जना प्रवक्ताले उनले राष्ट्रपति ट्रम्पले आफ्नो निर्णयले निम्त्याउन सक्ने नसोचिएका प्रभावबारे विचार गर्ने अपेक्षा व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले स्टील र एलुमिनियमको आयातमा करहरू लगाउने घोषणा गर्ने क्रममा अमेरिकी उद्योगहरू धराशायी भएको र त्यसका लागि अरू देशहरू र विगतका सरकारहरू जिम्मेवार रहेको टिप्पणी गरे।

उनले कर लगाइएपछि अमेरिकी स्टील र एलुमिनियम क्षेत्रमा धेरै सकारात्मक प्रभावहरू देखिने पनि दावी गरे।

यसअघि अमेरिकी वाणिज्य मन्त्रालयले उक्त कदम चाल्न सिफारिस गर्दै धातुहरूको आयात अमेरिकी राष्ट्रिय स्वार्थ विपरित भएको र त्यसले देशभित्र रहेका धातु उद्योगहरूको क्षमता कमजोर बनाइरहेको बताएको थियो।

Post Comment