अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। ल्यारी टेलिभिजनमा आर्थिक क्षेत्रका कार्यक्रमहरु सञ्चालन गर्ने गर्दथे।
आर्थिक विश्लेषक मानिएका ‘टेलिभिजन पर्सनालिटी’ ल्यारी राष्ट्रपति ट्रम्पको आर्थिक सल्लाहकारको रुपमा नियुक्त हुने निश्चित भएको ह्वाइट हाउसका अधिकारीले जानकारी दिएका हुन्।
७० वर्षीय ल्यारी ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदका नयाँ निर्देशकका रुपमा रहने जनाइएको छ। उनले हालका आर्थिक सल्लाहकार ग्यारी कोहनलाई प्रतिस्थापन गर्नेछन्।
उनले सन् १९६९ मा रोचेस्टर विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गरेका छन्। उनले फेडरल रिजर्भ बैंक अफ न्युयोर्कमा काम समेत गरेका छन्।
ल्यारीले व्यवस्थापन र अर्थतन्त्रसम्बन्धी काम गर्दै आएका छन्। उनीसँग यसअघि पनि अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको प्रशासनमा बसेर काम गरेको अनुभव रहेको छ।
ल्यारी पछिल्लो समयमा स्वतन्त्र व्यापार नीति, खुला बजार तथा न्युन करसम्बन्धी विषयमा वकालतकर्ता तथा यस विषयका जानकारका रुपमा चिनिन्छन्।
उनले टेलिभिजनमा पनि यस्तै विषयमा रहेर कार्यक्रमहरु सञ्चालन गर्दै आएका थिए।
आफूलाई आपूर्तिसँग जोडिएको अर्थतन्त्रको जानकार र त्यस विषयको वकालतकर्ताको रुपमा परिचित गराउँदै आएका ल्यारीलाई उक्त पदमा बसेर काम गर्न राष्ट्रपति ट्रम्पले नै पस्ताव गरेका हुन्।
उनले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको अभियानमा वर्तमान राष्ट्रपति ट्रम्पको पक्षमा वकालत गर्दै कर कटौतीसम्बन्धी कार्यक्रमको पक्षमा मत राखेका थिए।
यसअघिका आर्थिक सल्लाहकार कोहनलेजस्तै उनले पनि हालैमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले स्टील र अल्मुनियममा लगाउँदै आएको करको विपक्षमा मत राखेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार मात्रै अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई पदबाट हटाइ उनको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए)का प्रमुख माइक पोम्पेओलाई नियुक्त गरेका थिए।
त्यसैगरी गत हप्तामात्र पनि राष्ट्रपति ट्रम्पले आफ्ना सञ्चार संयोजक र सहयोगीलाई पनि फेरबदल गरेका थिए।