नेपालको राजधानी काठमाडौँलाई भारतको सीमावर्ती सहर रक्सौलसँग जोड्ने गरी नयाँ इलेक्ट्रिक रेल भारतको खर्चमा बनाउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छ।
भ्रमणका क्रममा भारत-नेपालले १२ बुँदे संयुक्त विज्ञप्तिसँगै रेल लिङ्केज विस्तार गर्ने सम्बन्धी चार बुँदे छुट्टै विज्ञप्ति पनि जारी भएको छ।रेलसम्बन्धी विज्ञप्तिको पहिलो बुँदामा भारतको आर्थिक सहयोगमा रक्सौलबाट काठमाडौँ जोड्ने एउटा नयाँ विद्युतीय रेल लाइन बनाउने उल्लेख छ। यसको लागि एक वर्षभित्र नेपाल सरकारसित परामर्श गरी भारत सरकारले प्रिपेटरी सर्भे गर्नेछ। विस्तृत परियोजना प्रतिवेदनका आधारमा त्यसको कार्यान्वयन र फन्डिङ मोडालिटीहरुबारे दुई पक्षले अन्तिम रुप दिने उल्लेख छ। प्रधानमन्त्री ओलीले नेपाल सरकारले नयाँ रेल लाइनको सर्भे छिट्टै सकाउन पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
रेल सम्बन्धी विज्ञप्तिको दोस्रो बुँदामा दुई प्रधानमन्त्रीहरुले भारत नेपाल सीमा जोड्ने रेल लिङ्क प्रोजेक्टहरुको पहिलो चरणमा भएका कार्यान्वयनको प्रशंसा गरेका छन्। भारतको जयनगरबाट जनकपुर/कुर्था र जोगबनीबाट विराटनगरको भन्सारसम्मको रेलमार्ग यही वर्ष (सन् २०१८) मा पूरा हुने विषय दुई प्रधानमन्त्रीले नोट गरेका छन्। जारी रेल लिङ्क प्रोजेक्टको बाँकी रहेका काममा जयनगर-बिजलपुरा- बर्दिवास र जोगबनी-विराटनगरलाई प्राथमकिता दिई अघि बढाउने विषय पनि विज्ञप्तिमा छ। नेपालले यसका लागि बाँकी रहेका विषय जसमा भूमि अधिग्रहण लगायतका विषय छन्, त्यसलाई चाँडो टुङ्ग्याउने प्रतिवद्धता व्यक्त गरेको छ जसलाई भारतले प्रशंसा गरेको छ।
रेल सेवाहरु सञ्चालन गर्नका लागि नेपाल र भारतबीचको संयुक्त वर्किङ ग्रुपको बैठक नियमित भइरहेकोमा दुई प्रधानमन्त्रीले प्रशंसाका साथ नोट गरेको तेस्रो बुँदामा उल्लेख छ। यही ग्रुपले क्रस बोर्डर रेल लिङ्क सञ्चालन गर्न आवश्यक विषय र द्विपक्षीय मोडालिटीहरुलाई अन्तिम टुङ्गो लगाउने भएको छ।
अन्तिम बुँदामा भारत र नेपालबीचको सीमा पार रेल लिङ्क प्रोजेक्टको दोस्रो चरण अन्तर्गतका बाँकी तीन लिङ्कहरुको महत्वबारे जोड दिइएको छ। यी तीन रेलमार्गमा न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्म, नौतनवादेखि भैरहवासम्म र नेपालगञ्ज रोडदेखि नेपालगञ्जसम्म रहेका छन्। यी तीन लिङ्कको हाल भइरहेको फाइनल लोकेसन सर्भेको स्वागत गर्दै दुई नेताले सर्भेका बाँकी काम छिटो सकाउन सहमति जनाएका छन्।