एसियाली विकास ब्याङ्कले यस वर्ष नेपालको आर्थिक वृद्धिदर सरकारले अपेक्षा गरेको भन्दा कम ४.९ प्रतिशत मात्र रहने अनुमान गरेको छ।
सरकारले प्रक्षेपण गरेको आर्थिक वृद्धिदर भन्दा यो १ दशमलब १ प्रतिशत विन्दुले कम हो।
यसवर्ष गएको बाढीले कृषि उत्पादनमा पारेको असरजस्ता कारणले आर्थिक वृद्धिदर खस्कने अनुमान गरिएको एसियाली विकास ब्याङ्कका अर्थविद्हरूले बताएका छन्।
सरकार चाहिँ आफूले प्रक्षेपण गरेकै दरमा आर्थिक वृद्धि हुनेमा अडिग रहेको छ।
एसियाली विकास ब्याङ्क (एडीबी) ले बुधवार एक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७४/७५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत भन्दा कम रहने अनुमान गरेको हो।
केही महिनाअघि उसले नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरेको थियो।
त्योभन्दा चाहिँ अहिलेको अनुमान अलिक बढी छ।
यसको कारणबारे ब्याङ्कको नेपालस्थित आवासीय नियोगका अर्थविज्ञ मानबर सिंह खड्काले भने, ” यस वर्ष ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने देखिएको छ। साउनको अन्त्यतिर गएको बाढीका कारण धान उत्पादनमा नकारात्मक असर पारेको थियो।”