निजामती कर्मचारीहरूले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारलाई तलव वृद्धि गर्नुपर्ने भनेर दवाव दिइरहेका बेला अर्थमन्त्रीले सो विषयमा सकारात्मक संकेत दिएका छन् ।
प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर कर्मचारीहरूले तलव वृद्धिको दवाव दिएका थिए । कर्मचारीहरूको मागलाई सरकारले पूरा गर्ने प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान कुरा गर्दै प्रमुख राजनीतिक सल्लाहकार रिमालले भने, ‘कर्मचारीको तलव बढ्छ । केही अंकमा बढ्छ । त्यो कति बढ्छ म भन्न सक्दैन ।’
अर्थमन्त्री खतिवडाले मंगलबार १६ खर्बको बजेट संसदमा पेश गर्दै छन् । बजेट आउँदै गर्दा रिमालले तलव भत्ताका बारेमा स्पष्ट पारेका हुन् ।
यसैबीच, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले केही दिनभित्रै संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने बताए । ‘संघीय फोरमलाई सरकारमा ल्याउने कुरा पहिला नै भएको हो’, उनले भने, ‘अब केही दिनभित्रै उहाँहरू सरकारमा आउनु हुन्छ ।’