अर्थमन्त्री डा. युवराज खतिवडाले वृद्धभत्ताको डिजाइनर आफू भएको बताएका छन् । २०५१ सालमा बजेट निर्माण गर्दा म आफूपनि संलग्न भएकाले वृद्धभत्ता नेपाल कम्युनिष्ट पार्टीको एजेण्डा भएको विपक्षी दललाई स्मरण गराएका छन् ।
बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने, ‘अकस्मात् चिन्ता भयो प्रतिपक्षका माननीयज्यूहरुलाई । यसका लागि म धन्यवाद पनि दिन्छु । तर, २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालको पहिलो बजेट बनाउदै थियौं । संयोगले म त्यसको एउटा आर्किटेक्ट पनि हुँ । त्यो हाम्रो स्वमित्वको विषय हो, त्यसलाई बिर्सने कुरै आउँदैन ।’
सामाजिक सुरक्षाको स्वरुप दायरा भएको र सबैभन्दा प्रभावकारी हुने भएर नै सरकारले ७० वर्ष उमेर पुगेकालाई स्वास्थ्य विमा र आवासको योजना अघि सारेको उनले बताए । उनले भने, ‘अब नगदै दिने कुरामा पर्खनुस्, हेर्दै जानुस् । हामीले बिर्सिएका छैनौं र क्षमता विकास गरेर त्यसलाई पनि सम्बोधन गर्छौं ।’
८ प्रतिशत आर्थिक वृद्धि, ५ लाखलाई रोजगारी, ३ वर्षमा खानेपानी र सिञ्चाई सुविधाजस्ता योजनालाई कसैले कछुवा गति भने अझ गर्नुपर्छ भन्ने शुभकामनाका रुपमा लिने उनले बताए । अर्थमन्त्री खतिवडाले अघि भने, ‘वायुपंखी भन्ने हो भने यति पनि नगरे हामी अल्पविकसित अवस्थामै रहन्छौं ।’
धेरै पैसा कमाउने व्यक्तिलाई कर लगायो भनेर निजी क्षेत्रलाई जोड्न जरुरी नरहेको अर्थमन्त्रीले बताए । व्यक्तिगत आम्दानी धेरै गर्नेले बढी कर नतिर्ने हो भने समाजवादतर्फको यात्रा अघि नबढ्ने उनले बताए ।
अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयका नाममा छुट्याएको बजेटले अधिनायकवाद नआउने प्रष्टीकरण दिए ।
कांग्रेस सांसदहरुले संघीयताको मर्म विपरीत प्रधानमन्त्री कार्यालयमा बजेट धेरै राखेको भन्दै आलोचना गरेका थिए । त्यसतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री कार्यालयमा डेढ खर्ब जति पुनर्निर्माणकै बजेट रहेको भन्दै अघि भने, ‘भूकम्प पीडितको लागि छुट्याइएको बजेटले अधिनायकवाद आउँदैन ।’