जी सेभेन बैठक: अमेरिकालाई व्यापार युद्धको चेतावनी

जी सेभेन बैठक: अमेरिकालाई व्यापार युद्धको चेतावनी
अर्थ​

औद्योगिक राष्ट्रहरुको समूह ‘जी–७’का अर्थमन्त्रीहरुको बैठकमा अमेरिकी नीतिको कडा आलोचना गरिएको छ ।

स्टील र एलुमिनियममा कर लगाउने अमेरिकी सरकारको निर्णयप्रति क्रूद्ध बनेका उनीहरुले अमेरिकी वित्तमन्त्री स्टिभ मनुचिनसँग अमेरिकी नीतिको तीब्र आलोचना गरेका हुन् ।

सात देशका अर्थमन्त्रीहरुले अमेरिकासँग व्यापार युद्ध रोक्न केही दिनमात्रै बाँकी रहेको चेतावनी दिएका छन् ।

क्यानडाको विस्लरमा भएको बैठकमा इयु र क्यानाडाले प्रतिकार गर्ने चेतावनी दिएका छन् भने फ्रान्सले केही दिनमै व्यापार युद्ध शुरु हुनेतर्फ ध्यानाकर्षण गराएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो देशलाई वर्षौंदेखि अरू देशले व्यापारमा शोषण गरिरहेको ट्वीटरमा उल्लेख गरेका छन् ।

उक्त करले अमेरिकी स्टील उत्पादकहरुको संरक्षण गर्ने भन्दै ट्रम्पले त्यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भएको जिकिर गरेका छन् ।

अमेरिकी वित्तमन्त्रीले भने अमेरिकाले विश्व अर्थतन्त्रको नेतृत्व नछाडेको भन्दै अरु देशका चिन्ता राष्ट्रपति ट्रम्पसमक्ष पुर्‍याएको बताएका छन् ।

बिहीबारमात्रै अमेरिकी वित्तमन्त्रीले स्टीलमा २५ र एलुमिनियममा १० प्रतिशत कर बढाउने निर्णय कार्यान्वयनमा आएको बताएका थिए ।

इयु, क्यानाडा र मेक्सिकोले अघिल्लो वर्ष झण्डै २३ अर्ब डलर मूल्य बराबरका स्टील र एलुमिनियम अमेरिकामा निर्यात गरेका थिए । ट्रम्प प्रशासनको निर्णयको विरोधमा रहेका इयु, क्यानाडा र मेक्सिकोले आफूहरुले पनि त्यसरी नै शुल्क बढाउने घोषणा गरेका छन् ।

यस निर्णयको अमेरिकाभित्र स्वयं राष्ट्रपति ट्रम्पकै पार्टी रिपब्लिकनका नेताले पनि आलोचना गरेका छन् ।

Post Comment