दूध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दूधमा युरिया मललगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको छ ।
संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दूधजन्य वस्तुमा युरिया मल लगायतका अखाद्य बस्तु नमिसाइएको दावी गरेको हो ।
संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दुधमा पनि देखिएको दावी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्क समेत गरे ।
संघले बाहिरबाट निर्यात गरिएका दूध पाउडर पनि मापदण्ड विपरित नरहेको दावी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दूध पाउडर मापदण्ड विपरित रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको तर्क छ ।
उनले दुध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्ष भित्र आचारसंहिता नै बनाएर पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले दूध तथा दूधजन्य वस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दूध डेरीलाई कारवाही गर्ने चेतावनी दिँदै आएका छन् ।