चिनियाँ उत्पादनमा १० प्रतिशत कर

चिनियाँ उत्पादनमा १० प्रतिशत कर
अर्थ​

अमेरिका र चीनबीच व्यापारिक युद्ध झनै चर्किएको छ । मंगलवार अमेरिकाले प्रस्ट रूपमा चीनबाट आयातित २०० अर्ब डलरको सामानमा १० प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ ।

अमेरिकी प्रशासनले आयात हुने चिनियाँ वस्तुको लामै सूची तयार पारेको छ जसमा अन्तःशुल्क लगाइनेछ । सयौं खानपिनका वस्तु, चुरोट, कोइला, रासायनिक पदार्थ, टायर, कुकुर र बिरालोले खाने कुरा, विद्युतीय वस्तु र टेलिभिजन लगायतका वस्तुमा कर लगाइँदैछ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटजियरले प्रस्तावित शुल्क घोषणा गर्दै विगत लामो समयदेखि ट्रम्प प्रशासनले चीनलाई आफ्नो बजार खोल्न लगाएपनि उसले नटेरेकाले उसका सामानमा शुल्क लगाइएको बताए ।

व्यापारको क्षेत्रमा गलत नीति अपनाउनुको साटो स्वस्थ बजार प्रतिस्पर्धा गर्नमा चीन लाग्नुपर्ने उनको भनाइ छ । अमेरिकाको जायज चिन्तामा ध्यान दिनुको साटो चीनले बदलाको भावनाले काम गरेको उनको आरोप छ ।

अघिल्लो हप्ता अमेरिकाले ३४ अर्ब डलरको चिनियाँ आयातमा २५ प्रतिशत शुल्क लगाएको थियो र चीनले तत्कालै आफूकहाँ आयात हुने अमेरिकी सामानमा त्यति नै शुल्क लगाएको थियो ।

अमेरिकाका केही व्यापारिक समूह र वरिष्ठ सांसदले ट्रप प्रशासनको घोषणाको निन्दा गरेका छन् । सिनेटको आर्थिक समितिका अध्यक्ष तथा रिपब्लिकन पार्टीका सांसद ओरिन ह्याचले यो हतारमा लिइएको कदम भएको र यसमा सन्तुलित
दृष्टिकोण नराखिएको बताए ।

Post Comment