अमेरिकाले रुसविरुद्ध घोषणा गरेको पछिल्ला आर्थिक प्रतिबन्धका कारणरुसी मुद्रा रुबल दुई वर्षयता सबैभन्दा बढी अवमूल्यन भएको छ । अमेरिकारको दण्डात्मक कारबाहीका कारण बिहीबार बिहान १ अमेरिकी डलर बराबर ६६.४८ रुबल कायम भएको छ । यो मूल्य नोभेम्बर २०१६ यताकै सबैभन्दा कम हो ।
अमेरिकी प्रतिबन्धको असर रुसी सेयर बजारमा पनि परेको छ । रुसी स्टक एक्सचेन्ज ३.२ प्रतिशतले घटेको छ भने मोएक्स इन्डेक्स झण्डै १.२ प्रतिशतले तल झरेको छ ।
यसका साथै रुसी बैंकहरुको सेयर पनि ओरालो लागेको छ । राज्य सञ्चालित स्बर बैंकको सेयर ४.७ बिन्दुले घटेको एएफपीले जनाएको छ । बेलायतमा बस्दै आएका एकजना पूर्व रुसी जासुसमाथि स्नायू प्रणालीमा असर पार्ने घातक आक्रमण गरेको विरुद्धमा रोध स्वरुप अमेरिकाले प्रतिबन्धहरु घोषणा गरेको हो ।
अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरी रासायनिक वा जैविक हतियार प्रयोग गरेको देखिएकोले रुसमाथि यस्तो कारबाही गर्नु परेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हिथर नर्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिबन्धअन्तर्गत ‘राष्ट्रिय सुरक्षा संवेदनशील’ अमेरिकी प्रविधि रुसलाई बेच्न पाइने छैन । यस्ता प्रविधिमा विद्युतीय उपकरणका साथै क्यालिब्रेसन उपकरण रहेका छन् । विगतमा यस्ता उपकरण निर्यात गर्न दिइएको थियो ।
यसअघि रुसले युक्रेनमाथि गरेको व्यवहारका कारण लागेको अन्तर्राष्ट्रिय प्रतिबन्ध भोगेको थियो । सोही वर्ष तेलको मूल्यमा आएको भारी गिरावटका कारण रुसको अर्थतन्त्र सन् २०१४ को अझै तंग्र्रिन सकेको छैन । दुई वर्षको आर्थिक संकटपश्चात सन् २०१७ बाट रुसको अर्थतन्त्र सही बाटोमा आएको थियो ।