लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको ७० प्रतिशत काम सकिएको छ । आयोजनाले चालू आर्थिक वर्षभित्र व्यावसायिक बिजुली उत्पादन थाल्ने भएको छ ।
८ अर्ब ८० करोड रुपैयाँको स्वदेशी लगानीमा निर्माण भइरहेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले पूर्वाधार निर्माण, सडक र विद्युतीकरणको काम गरिसकेको आयोजनाका प्रोजेक्ट डाइरेक्टर अर्जुन गौतमले बताए । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन आयोजनाले ०७८ असारमा निर्माण सकेर व्यावसायिक विद्युत् उत्पादन गर्ने गरी निर्माण कार्य अघि बढाएको जनाएको छ ।
गौतमका अनुसार आयोजनाको इलेक्ट्रो मेकानिकलतर्फ ६५ प्रतिशत काम सकिएको छ । इन्टेक, हेडबक्स, टनेल, पावरहाउसको निर्माण कार्य भइरहेको छ । कोरोना भाइरसका कारण लकडाउन भएपछि चार महिना आयोजनाको काम प्रभावित भए पनि हाल आयोजनाको कामलाई निरन्तरता दिइएको छ । आयोजनाको ०७५ सालभित्रै व्यावसायिक उत्पादन मिति (आरसिओडी) रहेको थियो । आयोजनाको सुरुङ खन्ने काम ८५ प्रतिशत सकिएको छ ।