काठमाण्डाै – नेपालमा उत्पादित अलैंचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नु परिरहेका बेला अब भने अलैंचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ ।
अब नेपालमा उत्पादित केही हिस्सा अलैंचीलाई आउँदो मङ्सिरदेखि नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा तीन करोड रुपैयाँ लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैंचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ ।
उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैंची, मझौला अलैंची, सानो अलैंची र सामान्य अलैंचीका रूपमा उद्योगले खरीद गर्नेछ । यस्तै, अलैंची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैंचीलाई १००/१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैंचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैंचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।
‘हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैंचीको सानो दाना मिसाएर बनाउछौँ’, सञ्चालक भट्टराईले भन्नुभयो, ‘यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।’ अहिलेसम्म अलैंचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्थ्यो । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैंचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको विश्वास छ ।
उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ । मुख्यगरी अलैंचीजन्य पदार्थको बजार नेपालमै केन्द्रीत गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली देश र अमेरिका हो ।