लुम्बिनीको महत्वका लागि बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सुरु

विचार

बुटवल, १० पुस । विश्व शान्तिको उद्गम स्थल मानिने अन्तर्राष्ट्रिय महत्वको बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना हुने हरेक कार्यक्रमको महत्व पनि त्यत्तिकै हुन्छ । त्यस्ता कार्यक्रम आयोजना गर्न यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सभागृह आवश्यक ठानेर बुटवलमा अहिले अत्याधुनिक सुविधासम्पन्न सभागृह निर्माण हँुदैछ । लुम्बिनीमा पर्यटन प्रवद्र्धनसँगै ‘ग्रेटर लुम्बिनी’ क्षेत्रको पूर्वाधार विकास जरुरी रहेको महसुस गरेर बुटवलमा सम्मेलन केन्द्र निर्माण गर्न थालिएको हो ।

यसको निर्माण आगामी पाँच वर्षभित्र पूरा गर्ने सरकारको लक्ष्य छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सभागृह) निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट बोलपत्र स्वीकृत भएपछि यसको निर्माण कार्य छिट्टै अगाडि बढ्ने निश्चित भएको हो । विभागले गत साउनमा आह्वान गरेको भवन निर्माणको बोलपत्र स्वीकृत भइसकेकाले तत्काल निर्माण कार्य सुरु हुने सहरी विकास तथा भवन निर्माण विभागका भवन निर्माण शाखा प्रमुख मचाकाजी महर्जनले जानकारी दिनुभयो ।

सम्मेलन केन्द्र निर्माणका लागि रु २८ करोडमा बोलपत्र स्वीकृत गरी यसको निर्माण कार्यको अधिकारसमेत रविना कन्स्ट्रक्सन प्रालिलाई प्रत्यायोजन भइसकेको महर्जनले जानकारी दिनुभयो ।

सम्मेलन केन्द्रको सम्पूर्ण काम पूरा गर्न दुई चरणमा काम गरिने भएकाले हालको स्वीकृत बोलपत्र पहिलो चरणको मात्र भएको उहाँले बताउनुभयो । पहिलो चरणको काम ३० महिनाभित्रै सम्पन्न गर्ने गरी बोलपत्र सम्झौता भएको छ । दोस्रो चरणको कामका लागि पनि सरकारसँग प्रस्ताव गरिएको र प्रस्ताव स्वीकृत भएर आएपछि छिट्टै नै बोलपत्र आह्वान गरिेने छ । यसका लागि थप दुई वर्ष निर्माण सम्पन्न गर्न समय लाग्ने छ । सम्मेलन केन्द्र पूर्ण रुपले निर्माण सम्पन्न गर्न पाँच वर्ष लाग्ने भए पनि पहिलो चरणको काम ३ वर्षभित्रै सकिने छ । पहिलो चरणको निर्माण सकिएलगत्तै सभागृह प्रयोगमा आउने बताइन्छ ।

शाखा प्रमुख महर्जनका अनुसार यो सम्मेलन केन्द्रमा पहिलो चरणमा एक हजारजना अट्न सक्ने एउटा मुख्य ठूलो हलको निर्माण हुनेछ । दोस्रो चरणमा दुईवटा साना हल निर्माण हुनेछन् । उहाँका अनुसार सानामध्ये एउटा हलमा ४०० र अर्कोमा २५० जना अट्न सक्छ ।सम्मेलन केन्द्रभित्रै दुईतले भवनमा व्यावसायिक क्षेत्र, रेष्टुराँ, बैंक एटिएम, खाजा घर र प्रशासनिक कामका लागि छुट्टाछुट्टै कोठा दोस्रो चरणमानै निर्माण गरिने छ ।

महर्जनका अनुसार नेपाली झन्डाको आकारमा यो सम्मेलन केन्द्र निर्माण हुनेछ । “आकाशबाट हेर्दा भवन नेपाली झन्डाको आकारमा देखिनेछ,” उहाँले भन्नुभयो । यसले नेपालको राष्ट्रिय एकतालाई झल्काउने छ । सम्मेलन केन्द्रको चारैतिर चारवटा प्रवेशद्वार, एक हजारजना अटाउन सक्ने खुलामञ्च, आधुनिक फर्निचर र सूचना प्रविधि, आकर्षक बगैँचा, पार्किङ र हरियालीको व्यवस्था गरिनेछ । सम्मेलन केन्द्र अत्याधुनिक प्रविधि र गुणस्तरयुक्त सामग्रीको प्रयोगबाट निर्माण गरिने छ ।

सम्मेलन केन्द्र निर्माणको जिम्मेवारी पाएको रविना कन्स्ट्रक्सनका प्रमुख रामगोपाल श्रेष्ठले विभागबाट अन्तिम नक्सा आएपछि र वन कार्यालयबाट रुख कटानको स्वीकृति पाएपछि तत्काल निर्माण कार्य अगाडि बढ्ने बताउनुभयो ।

सभागृह निर्माण हुने भएपछि यस क्षेत्रको आर्थिक तथा पर्यटकीय विकासका महत्वपूर्ण विकास हुने रुपन्देही व्यापार सङ्घका अध्यक्ष श्रीकृष्ण पोखरेल बताउनुहुन्छ । उहाँले सम्मेलन केन्द्र निर्माण भएपछि यस क्षेत्रको पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा उल्लेख्य विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले सम्मेलन केन्द्रको निर्माणले यस क्षेत्रको आर्थिक तथा पर्यटकीय सम्भावनाको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलसँगै अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र बुटवलमा निर्माण हँुदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम यस क्षेत्रमा आयोजना हुने भएकाले अब यस क्षेत्रमा ठूला–ठूला होटलमा लगानीको सम्भावना देखिएको बताउनुभयो ।

बुटवलका पर्यटन व्यवसायी माधव नेपालले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुनु बुटवलको पर्यटन विकासका लागि सुअवसर भएको बताउँदै अब बुटवल क्षेत्रमा ‘स्टार लेवल’का होटलमा लगानी आवश्यक भएको बताउनुभयो ।

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको ठूल्ठूला कार्यक्रम आयोजना गर्न उपयुक्त हुने ठानेर बुटवलमै राष्ट्रिय गौरवको योजना अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि सरकारसँग प्रस्ताव गरिएअनुरुप सम्मेलन केन्द्रको निर्माण हुन थालेबाट बुटवलका लागि मात्र नभई सिङ्गो रुपन्देहीवासीका लागि गौरवको विषय बन्नपुगेको रुपन्देही क्षेत्र नं ४ का सभासद् विष्णु पौडेलले बताउनुहुन्छ ।

बुटवल–भैरहवा छ लेन सडक, भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनीको विकासलगायतका पूर्वाधार चाँडो सम्पन्न गरेर रुपन्देहीलाई विकासको नमुना जिल्ला बनाइने सभासद् पौडेल बताउनुहुन्छ । रासस  (भरत केसी)

Post Comment