इन्जिनियरको सही नेता कसरी रोज्ने ?

इन्जिनियरको सही नेता कसरी रोज्ने  ?
विचार

समाज विकास क्रमका विविध अवयवहरुमध्ये इन्जिनियरिङ्ग यसको कला हो, शृंगार हो र रुप हो । विश्वजगत रचना र निर्माणको टाकुरोमा पुगेर बिशिष्टतम र नवीनतम खोजमा लाग्दै गर्दा हामी अझै पनि विकासक्रममा लाग्न सकेका छैनौं । सबभन्दा लाजमर्दो कुरा विकासको लागि कलाकार मानिने इन्जिनियरहरु नै मौन रहनु दु:खद पक्ष छ । इन्जिनियरहरुको बीचमा चुनावी सरगर्मी दिन दुगुणा रात चौगुणा बढेको देखिन्छ । खैर, उनीहरु एउटा-एउटा पार्टीको पुच्छर समातेर त्यसको नेता जम्मा पार्दै नेता-मन्त्रीसंग फोटो खिचाएर अनि डिनर खुवाएर भोट माग्ने प्रयत्नमा छन् ।

यतिबेला विकासको मोडालिटीमा छलफल हुनुपर्ने हो । माथिल्लो कर्णाली जिएमआरलाई दिने कि आफै बनाउने ? नौ सय मेगावाट बनाउने की बयालिस सय मेगावाट ? आफै बनाउने भए आर्थिक संकलनको मोडालिटी के ? विदेशीलाई दिने भए हामीले बनाउन नसक्नाको कारण के ? पश्चिम सेती के गर्ने ? नेपाली इन्जिनियरहरु बुढीगण्डकी बनाउन सक्षम हौँ कि होइनौं ? फास्ट ट्रयाक, निजगढ र पोखरा विमानस्थल, त्रिभुवन विमानस्थलको स्तरउन्नती, लुम्बिनी विकास योजना, हुलाकी राजमार्ग, मध्येपहाडी लोकमार्ग जस्ता राष्ट्रिय गौरवका योजनाका सम्बन्धमा धुमल्लिएको समस्याको समाधान के हो ?

हावाबाट बिजुली, ग्याँस पाइपको विस्तार, रेलसञ्जालको परिकल्पना, यि विविध बिषयमा प्राविधिकहरुको साझा धारणा के ? राजनीतिक मान्छेले फरक-फरक कोणबाट तर्क देलान् तर के प्राविधिक कुरामा तर्क गरेर मात्र हुन्छ वा तर्क डाटावेस हुनुपर्छ ? यि आयोजनाहरुको सम्बन्धमा नेपाली मन विभाजित भैरहेको बेलामा किन हामी इन्जिनियरहरुले सहि समाधान दिन सकेका छैनौं ? कमसेकम यो देशका प्राविधिकले यो सल्लाह दिएका छन् भन्नलाई सम्म हामी किन चुकिरहेका छौं ? भदौ ३१ नजिकिँदै गर्दा के तपाईले यी प्रश्नको जवाफ मैदानमा उत्रिएका उम्मेदवारहरुबाट लिनुभएको छ ? के यी प्रश्नहरुको उत्तर नपाउँदा पनि ऊ तपाईंको मतको लागि योग्य रहन्छ ?

नेईए भर्‍याङ बन्दै छ वा काम गर्ने ठाउँ ?

नेपाल इन्जिनियर्स एसोसियनले आफ्नो स्थापनाको अर्धसतक समय पार गरिसकेको छ । पछिल्ला दशौँ कार्यसमितिहरु पार्टीगत समूहको आधारमा चुनाव लड्दै आएका छन् । आफुलाई इन्जिनियरिङ्ग पेशाको गुणस्तर र सामाजिक मर्यादा कायम गराउने, इन्जिनियरहरुको हक-हितमा समर्पित हुने, सम्पूर्ण इन्जिनियरहरुको छाता संगठन भन्न रुचाउने नेपाल इन्जिनियर्स एसोसियसनमा नयाँ नेतृत्व चुन्नुअघि यसअघिका नेतृत्वको उपलब्धिको समीक्षा हुनु बान्छनीय देखिन्छ । नेपाल इन्जिनियरिङ्ग परिषद्को स्थापनाको अवधारणा, नियमित केहि इन्जिनियरहरुको दर्ता र नवीकरण, सामान्य खालका सेमिनार र गोष्ठीबाहेक गर्व गर्न लायक काम भनेको भूकम्पको बेला इन्जिनियरको परिचालन मात्र हो ।

यसको अलवा, तपाईले ति पार्टीगत समूहको उम्मेदवारलाई (जसका तर्फबाट पटक-पटक चुनाव जितिसकेका छन्) सोध्नुभएको छ, इन्जिनियरहरुको बौद्धिक क्षामताको कदर खै भनेर ? नेपाल इन्जिनियरिङ्ग परिषदबाट मान्यताप्राप्त इन्जिनियरले निर्बाध काम गर्न पाउनु पर्ने हो तर फेरी किन प्रत्येक नगरपालिका र गाविसमा छुट्टाछुट्टै दर्ता हुनुपर्ने ?

तपाईले सोध्नुभएको छ, भर्खर पास गरेको फ्रेस इन्जिनियरको समस्याको समाधान के भनेर ? आजको दिनमा लाखौं खर्च गरेर पढिसकेपछि काम र दाम नपाउँदा ती होनहार व्यक्तिहरु मानसिक तनाव र डिप्रेसनमा परेका छन् । इन्जिनियर्स एसोसियसनले राज्यसँग सानो फन्ड लिएर फ्रेस इन्जिनियरलाई जागिर वा व्यवसाय नहुँदासम्म तालिमको व्यवस्था गर्न किन सकेन ? किन इन्जिनियरको न्यूनतम तलब तोकिएन ? किन इन्जिनियरिंग, रिसर्च र अध्ययनलाई उद्योग, उत्पादन र निर्माणमा जोड्न सकेन ? के आज नेपालको इन्जिनियर विदेश गएर पनि यहींको सर्टिफिकेटले निर्बाध काम गर्न पाउँछ ? पाउँदैन भने आजको दिनसम्म नेपाली इन्जिनियरलाई किन विश्व जगतमा चिनाउने काम गरिएन ? विश्वले मान्यता दिन हामि फेरी विदेशकै विश्वविद्यालयमा पढ्नुपर्ने हो ? हाम्रो शिक्षाको गुणस्तर नभएर हो वा चिनाउने कोसिस गरेनौं ? हाम्रो शिक्षामा नै त्रुटी थियो भने गुणस्तर सुधार्न किन पहल नगर्‍या ? के तिमीले चुनाव जित्ने तिम्रो पार्टीको सरकार आउँदा नियुक्तिको दाबेदारीको लागि मात्र हो ? यि यावत प्रश्नहरुको उतर किन नखोज्ने ?

के ऊ अहिलेसम्मको जिम्मेवारीमा इमान्दार र प्रतिबद्ध छ ?

नेतृत्व गर्ने व्यक्तिको नेतृत्व क्षमताको मुल्यांकन गर्दैगर्दा उसका पहिलेका जिम्मेवारीमा उसको भूमिकामा ध्यान दिनु पनि उत्तिकै महत्वपूर्ण हुन आउँछ । के तपाईले मत दिन लागेको उम्मेदवारको पहिलेको जिम्मेवारीमा ऊर्जा, लगनशीलता,प्रतिबद्धता र सफलता हेर्नु भएको छ ? आफ्नै फर्मबाट अति कम तलबमा इन्जिनियरलाई काम लगाउने उम्मेदवारबाट तपाई न्यूनतम तलब तोक्ने कुरा अपेक्षा गर्नुहुन्छ ? इन्जिनियरिङ्ग शिक्षा अनुगमन र नेतृत्वको जिम्मा लिएका तर यसलाई व्यापारीकरणको चंगुलमा धकेलेकाहरुबाट फेरी पनि तपाई गुणस्तरको अपेक्षा गर्नुहुन्छ ? काम गर्ने ठाउँमा नियुक्ति लिएर असफल प्राय: व्यक्तिहरुले कसरी तपाईको एजेन्डाको नेतृत्व गर्न सक्छन् ?

तपाईसंग उसले भोट माग्दै छ वा किन्दै छ ?
निर्वाचन भन्नेबितिकै उम्मेदवारहरुले यावत बिषयहरुमा आफ्नो योजना र कार्ययोजना राख्ने गर्छन । मतदाताहरुले उनीहरुको आत्मविश्वास, प्रतिबद्धता र विश्वासनियतालाई मुल्यांकन गर्दै आफ्नो मत जाहेर गर्छन र सक्षम नेतृत्व चुनिन्छ । तर इन्जिनियर्स एसोसियसनको चुनावको सन्दर्भमा भोट माँगिदै छ कि किनिदै छ भन्ने प्रश्न उठेको छ । पाँच दशक लामो यात्रा सम्ममा पनि इन्जिनियरहरुमा एसोसियसनप्रति आकर्षण जाग्न सकेको छैन । दर्ता र नविकरणको सामान्य प्रक्रियासम्म पनि आफैले गरेर म सदस्य बन्नुपर्छ भन्ने भावना जागृत गराउन सकेको छैन । यहाँ त चुनावको बेला तिनै राजनीतिक पार्टीका प्यानलहरुले आँफै रकम खर्च गराउँछन अनि दर्ता र नवीकरण गराउँछन । पार्टी प्यालेस र रिसोर्टहरुमा पार्टीको आयोजना गरिन्छ । न यहाँ योजनाको बहस हुन्छ न निर्माणको । अनि यस्तो पारिन्छ, मैले तेरो लागि यति खर्च गरे, मलाई भोट दे । कस्तो बिडम्बना ! भोट किन्न लाखौ खर्च गर्नेहरुले जितेपछि त्यो पैसा उठाउनु परेन ? अनि भन्नुस, भ्रष्टाचार नेतृत्वले गर्दै छ कि तपाई गराउँदै हुनुहुन्छ ?

अन्त्यमा,
इन्जिनियरिङ्ग पेशा आफैमा शिक्षित र सम्मानित पेशा हो । इन्जिनियरका गतिविधिहरु समाजले नियालिरहेको हुन्छ । अझ हाम्रोजस्तो विकासशील समाजमा इन्जिनियरिङ्ग क्षेत्र सबैको अनुकरणीय बन्न सक्नुपर्ने हो । आधुनिक प्रविधिको बुद्धिमत्तापूर्ण प्रयोगबाट हामी अझ दिगो विकासतर्फ अघि बढ्न सक्छौं । तर अपसोच, हाम्रो भोटिङ्ग सिस्टमसम्म आधुनिक बन्न सकेको छैन । सोच्नुपर्ने बेला आएको छ, साँचो अर्थमा तपाईंको मतले के अर्थ राख्छ ? तपाईको त्यहि मत आधुनिक समाज निर्माणको लागि पथ-प्रदर्शक बन्न पनि सक्छ, या कसैको राजनैतिक अभिष्ट पुरा गर्ने थलो पनि हुन सक्छ । ठण्डा दिमागले सोच्ने बेला आएको छ । हामी जुन दिनबाट भोज-भतेर, पद र पैसासंग आफ्नो विचार र संस्कार साट्न छोड्छौं, त्यही दिनबाट हाम्रो समाज उँभो लाग्न सुरु हुन्छ, नत्र फगत कसैको भर्‍याङ बन्नु शिवाय केहि उपलब्धि देखिन्न । भविष्य कस्तो बनाउने तपाईकै हातमा छ । यि यावत प्रश्नसहित तपाईको उम्मेदवार छान्ने जिम्मा तपाईलाई नै । जय होस् !!

(पाण्डे हाल काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत छन्)