देशनै लोकमानमय भएको बेलामा लोकमानकै प्रसंगमा कुरा गर्दा ठिकै होला भन्ने सोचेको छु । हुन त पुरै सामाजिक सञ्जाल र मिडिया लोकमानमय हुँदा धेरैलाई वाक्क पनि लागिसकेको हुनुपर्छ । तर हामी धेरै नेपालीहरु लहैलहैमा लागेर लोकमानको बिरोध र समर्थन गरिरहेका छौँ । जनता भन्दा धेरै कार्यकर्ता भएको देशमा यो हुनु स्वभाविक पनी हो । तर कुनै पनि कुरामा नकारात्मक या सकारात्मक धारणा बनाउनु भन्दा पहिले त्यसको धरातल बुझ्नु जरुरी हुन्छ जस्तो लाग्छ । देशको ठूलो पार्टी नेपाली काँग्रेसले अहिले सम्म पनि आधिकारिक धारणा दिन सकेको छैन । त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र भने लोकमानलाई महा-अभियोग लगाउन भनेर मरिमेटेर लागेका छन । लोकमान प्रकरणले नैतिक धरातलको आधारमा सत्ता समिकरण सम्म परिवर्तन हुन सक्ने अवस्था आँकलन गरिएको छ ।
को हुन लोकमान ?
उनी पुर्व राजा ज्ञानेन्द्रको शासनकालका नेपाल सरकारका मूख्य सचिव थिए । बि.सं २०६२/६३ को जन आन्दोलन दबाउन उनले पदको दुरुपयोग गर्दै ठूलो शक्ति र रकमलाई उपयोग गरेर जनआन्दोलनमा व्यापक दमनचको नेतृत्व लिएका थिए । ६२/६३ को जनआन्दोलन पछि पुर्व राजा ज्ञानेन्द्रको निरंकुश शाही शासनले गरेका अपराध तथा राष्ट्रिय सम्पत्तिको दुरुपयोग आदी पत्ता लगाउन गठित रायमाझी आयोगले तत्कालिन मूख्य सचिव लोकमान लाई पदीय दायित्वको दुरुपयोग गरि १९ दिने ऐतिहासिक जनआन्दोलन दबाउन मुख्य भुमिका खेलेको र आन्दोलन दबाउने बहानामा देशको ढुकुटी रित्याएर ठूलो मात्रामा भ्रष्टाचार गरेकोले उनी हत्यारा र घोर भ्रष्टाचारी भएकाले कानुन बमोजिम कार्वाही होस भनी नेपाल सरकारलाई सिफारिस गरिएका व्यक्ति हुन ।
कसले बनाएका थिए लोकमानलाई अख्तियार प्रमुख ?
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) यी तिनै ठुला दलको सिफारिसमा २०७० साल वैशाख २२ गते बसेको न्यायपरिषदको वैठकले निर्णय गरेपछि खिलराज रेग्मिको सरकारले २०७० साल वैशाख २५ गते पुर्व राष्ट्रपति डा.रामवरण यादवद्वारा सपथ खुवाई लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गरीएको थियो ।
कसरी सुरुभएको थियो महाअभियोगको श्रृंखला ?
मेडिकल क्षेत्रमा आफ्नो र आफन्तको नीहित व्यापारिक स्वार्थका लागि निश्चित शुल्कमा भर्ना लगायत समग्र सुधार प्रक्रिया अवरुद्ध पारेकालाई संरक्षण दिएको, अरु जिम्मेवार पदाधिकारीलाई ब्ल्याकमेलिङ गरेर राजीनामा दिन बाध्य पारेको साथै काठमाडौँ विश्वविद्यालयको प्रवेश परीक्षामा कार्यक्षेत्र नाघेर हस्तक्षेप गरेको जस्ता अरोप लगाउँदै लोकमान भ्रष्ट्राचारीको नाईके भएको भन्दै डा. गोबिन्द केसीले महाअभियोग लगाउन माग गरेका थिए । तर अख्तियारले भने डा. गोविन्द केसीको मागलाई अस्वीकार गर्दै मनोगत लाञ्छनासहित महाअभियोग एवम् कारबाही प्रक्रिया अघि बढाउन राखेको मागप्रति आपत्ति रहेको बताएको थियो । उसले डा केसीको माग छुद्रता, अराजकता र अस्वस्थ्य मानसिकताको उपज भएको भनेको थियो । त्यसपछी महा अभियोगको कुरा चुलिएको थियो ।
लोकमानको आफ्ना ब्यक्तिगत मुद्दा त आफ्ना ठाउँमा होलान । उनी अपराधी थिए भन्ने जान्दा जान्दै अख्तियार प्रमुखमा नियुक्त गर्ने राजनितिक दलका टाउकेहरु झन महाभ्रष्ट र अपराधी हुन । किनकी आफुले गरेको भ्रष्ट्राचारको कालो कर्तुत छिपाउन यिनिहरुले भ्रष्ट्राचारी प्रमाणित गरिएका लोकमानलाई नै अख्तियार प्रमुख (बिरालोलाई दूध गोठालो) बनाएका थिए, यो जगजाहेर छ । जबसम्म लोकमानले झिना मसिना भ्रष्ट्राचारीलाई कार्वाही गरिरहे यी सबै भ्रष्ट्रचारीको नाईकेहरु चुपचाप बसिरहे । जब एकाएक लोकमान तातेर लडाकु सेना समायोजनमा गरिएको करोडौँ घोटाला लगायतका मुद्दा ब्युंझाएर प्रचण्ड, जनार्दन, त्यस्तै चिनबाट कृष्ण बहादुर महराले करोडौं लिएको काण्ड लगायतका मुद्दामा हात हाल्न लागे तब अत्ताल्लिएर महा अभियोगको प्रस्ताब गरिएको हो ।
अख्तियारसँग कांग्रेसका २१ जना, एमालेका तीन दर्जन र माओवादीका दर्जन भन्दा बढी गरी करिब सयको हाराहारीमा नेताहरुमाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको अभियोगमा अनुसन्धानको लागी फाईल रहेको गोप्य कुरा समेत बाहिर आयो । त्यसपछी यिनिहरु झन अत्तालिए र उक्त फाइल नष्ट गर्नका लागी तीनअाेटै दलका शिर्ष नेतृत्वले अख्तियारका कार्यवाहक प्रमुखलाइ निरन्तर दबाव दिन थाले र लोकमान बिरुद्ध महा-अभियोगको प्रस्ताब दर्ता गरे । लोकमानले लहरो तान्दा पुरै पहरो थर्कियो ।
हामी जनता त एक लोकमानलाई कार्वाही गर्दा हैन, लोकमानले पहिले यी सयौँको संख्यामा रहेका कालो धन थुपार्ने भ्रष्ट्राचारीका नाइके, अरबौँ लुटेर देश खोक्रो बनाउने नेता नामका जुका हरुलाई काराही गर्दा खुसी हुन्छौँ । एक राजाले लुटेर या एक लोकमानले लुटेर भन्दा सयौँ छोटे राजा हरुले लुट्दा देश सकिने रहेछ । हामी भ्रष्ट्राचारी चाहन्नौं, देश लुटेर आफै राजा बन्ने मान्छे चाहन्नौ ।
लुट्न पाए खुसी अनि पोल खुल्ने भएसी, जिवनभर चिसो छिडिमा सडिने भएसी नाटक गर्ने नौटङ्की वाला चाहन्नौ । हामी जनताको दु:ख सुख बुझ्ने, आफू हैन देश बनाउने असल मान्छे चाहन्छौ । यो केशमा हामी लोकमान को पक्षमा बिपक्षमा भन्दापनि लुटेराहरु समातिनु पर्छ, तिनिहरु कार्वाहिमा पर्नुपर्छ र राम राज्य स्थापना हुनुपर्छ भन्ने पक्षमा छौं । अख्तियार जसले कालो धन थुपार्ने हरुको भण्डाफोर र पर्दाफास गर्छ । उसैलाई आफ्नो मुठिमा राख्न खोज्ने यी पार्टी नामका देश लुट्ने कम्पनी हरुको हर्कत जब सम्म परिवर्तन हुँदैन भ्रष्ट्राचार तीन गुणा ज्यादा मौलाउँछ । देश बन्ने कल्पना नगरे पनि हुन्छ ।
बिगतमा को कस्तो थियो, कस्ले के के गरेको थियो, बिगत बिर्सौँ । बिगत कोट्याउने हो भने कुन चाहिँ दुधले नुहाएको छ? कसैसंग रिस उठ्यो भने त्यसको घरमा काँग्रेस पसोस भनेर सराप उसै दिएको हो? काँग्रेसले बन्दुक बोकेर मान्छे तर्साएको, हत्या गरेको ईतिहास साछी छ । हर्ता कर्ता एमालेको झापा बिद्रोह, भुमिगत जिवनमा गरेका गल्ती लगायत मान्छेको गर्धन काटेको घटना कस्ले बिर्सिएको छ ? के प्रचण्ड स्वयँ १७ हजार निर्दोश जनताको रगतमा होली खेलेर आज यो स्थानमा आएको हैन ? अहिले हिन्दु धर्म र राज संस्था पुन:स्थापना गर्न मरिमेटेर लागेको राप्रपा नेपालको टाउके कमल थापाले जन आन्दोलनमा दमन गरेको घटना कुन नेपाली नागरिकले बिर्सेको छ ?
यहाँ त आफ्नु सबै पोल खुल्ने भयो, भ्रष्ट्राचार गरेको अरबौँ सम्पत्ती ले जीवन भर चिसो जेलमा सडाउने भयो, आफ्नो अस्तित्वनै संकटमा पर्ने भयो भनेर लोकमान लाई हटाउन मान्छे मरिमेटेर लागेका हुन । हामी जनता त बाध्य छौँ कुहिएको आलु मध्य पनि अलि सग्लो सग्लो आलुले काम चलाउन । नत्र यी सबै नेता भनाउँदा यमराजहरुलाई तलतिर बगाएर मुहान तिर खोज्नुपर्ने मान्छे हुन । यी यमराराज हरुले बिना पाप हामी जनता हरुलाई जिउँदै तातो तेलमा डुबाई रहेछन । सचेत नागरीक गोलबद्द बनौं ।
जय देश ।।।