अगाडि बढ्नुस धुर्मुस-सुन्तली परदेशमा पसिना बगाएर जोगाएको एक पैसा मात्र भए पनि सहयोग गर्नेछौँ

विचार

ए धुर्मुस दाई ! हिजो तपाईहरु क्यारिकेचर गरेर, उटपट्याङ गरेर हँसाउँनु हुन्थ्यो आज पनि हँसाउनु भयो । तर हिजोको हँसाई र आजको हँसाईमा कति फरक रहेछ है? हिजो तपाईंहरु बेथिती हटाउन, मान्छेलाई रमाईलो गराउन हँसाउनु हुन्थ्यो तर आज तपाईहरुले घरबार बिहिनलाई बास दिएर हँसाउनुभएको छ ।

ती पिडित दाजुभाइ हरु कति खुसी छ्न हगी ? आखीर तपाईहरु हँसाउनै जन्मीनु भएको रहेछ । सँधै यसै गरि हँसाई रहन सक्नुस है ? देशले तपाईं हरु जस्तै सपूत खोजेको छ । गद्दार नेता भनाउँदाहरु सत्ताको लुछाचुँडीमै रमाई रहुन । तर तपाईंहरु जस्ता महान मान्छे हरु जन्माउने प्रेरणा दिँदै जानूस है ?

हुन त म जस्ता लखौं युवा देशको भुगोल भन्दा निकै टाडा छौ तर शुक्रबार धुर्मुस सुन्तली फाउन्डेसनले गिरानचौरमा एक सामुदायिक भवन सहितको ६५ वटा घर रहेको सुन्दर बस्ती भुकम्प पिडितलाई हस्तान्तरण गर्दा मन कम्ती खुसी भएन । आखिर मन र खुसीलाई भुगोलले कहाँ छेक्न सक्दो रहेछ र । यस अघि पनि तपाईं हरुले काभ्रेमा १९ परिवार भूकम्प पिडितका लागि एकिकृत बस्ती हस्तान्तरण गर्दा कम्ती खुसी भैएको थिएन, आज झन खुसीको सिमा नै रहेन ।

धुर्मुस-सुन्तली फाउन्डेसनले ५ करोड १३ लाख ८५ हजार १ सय ८७ रुपैयाँमा एकीकृत बस्ती निर्माण गरेर नेताका खोल ओढेका ब्वाँसा हरुलाई लोप्पा खुवाईदिएका छन । देश बनाउन मान्छेको रगतमा होलि खेल्न र भाषण,आश्वासन हैन देश बनाउने सोच चाहिन्छ । देश बनाउने सोच भए एक दुई जनानै मान्छे काफी छ भनेर प्रमाणित गरिदिनु भएको छ तपाईं हरुले ।

बस्ती बनाउन जनस्तरबाट समेत ६ करोड १७ लाख १ हजार १ सय ३९ रुपैयाँ संकलन भएको थियो आहा ! कति गर्वको कुरा छ । यी तमाम सहयोगी हातहरु लाई हरेक नेपालिले भित्री हृदय देखि नै स्याबासी दिईरहेका छन, सलाम ठोकिरहेका छन । धुर्मुस सुन्तलीले सारा नेपालिको वाह-वाह खाँदै पिडितलाई बस्ती हस्तान्तरण गर्दै गर्दा नेता भनौँदाहरु भिजेको बिरालो जस्तो भएर लाजै पचाएर ताली पिटिरहेका थिए । यो दृष्य देख्दा हरेक नेपालिलाई दया लग्नु र छि: भन्न मन लाग्नु स्वभाविक हो।

साँच्चै तिनलाई अलिकती हिनताबोध सम्म भयो की भएन होला ? महिनौ लगाएर खाई नखाई, पसिना बगाएर, झरी, हुरी नभनी खटेर यी जोडीले बनाएको सुन्दर बस्ती हस्तान्त्रण गर्न हेलिकप्टर चढेर जाँदा राष्ट्रपतीलाई छाती पोल्नुपर्ने होकि हैन ? कहालिलाग्दो भुकम्प पछि २ सरकार फेरिए । गद्दार नेतृत्व सत्ताको लुछाचुँडिमै लडिरहँदा, देशको स्वाभिमानको बिक्री बितरण गर्नै ब्यस्त भैरहँदा यो जोडीले भने रातारात खटेर भुकम्प पिडितको मुहारमा खुसी दिलाएको छ । घरमा लक्ष्मी भित्राईदिएको छ ।

देश हाँक्ने साँचो पाएका हरुले पिडितलाई दिने भनेर आफुले घोषणा गरेको रकम अहिले सम्म हस्तान्तरण गर्ने सकेका छैनन । तर यी जोडिले यति महान काम गरेर दुनियाको मुहारमा खुसि ल्याईदिएका छन । स्याबासी बटुलेका छन । हरेक नेपालिको मन मस्तिष्कमा राज गरेका छन ।

तपाई हरुले बस्ती हस्तान्तरण गर्दै गर्दा भन्नू भएको एउटा शब्दले सार्‍है मनमा छोएको छ ध । तपाईहरुले भन्नू भएको थियो:- ‘यदी जनताले बिश्वास गरे हामी देश बनाउँछौं ।’ पक्का पनि हामी सारा नेपाली तपाईहरुको साथमा छौं । हामिले परदेशमा थोपा थोपा पसिना बगाएर कमाएको एक एक पैसा भएपनी सहयोग गर्नेछौ ।

हामी संग नभएको केही छैन, मात्र ईच्छा शक्ति नभएको हो । देश लुटन पल्किएका हरुले दाजुभाई दाजुभाईमा लडाएको मात्र हो । अघि बढ्नुस धुर्मुस- सुन्तली हामी सँधै तपाईहरुको साथमा छौं ।

जय देश ।।।

Post Comment