“सांसदहरुले आफूलाई हात्ती र अरुलाई कमिला ठानेको जस्तो लाग्यो ।”

विचार

४ मङ्सिर । “सांसदहरुले आफूलाई हात्ती र अरुलाई कमिला ठानेको जस्तो लाग्यो ।” पहिलो पटक व्यवस्थापिका–संसद्को दर्शकदीर्घामा पुगेका विद्यार्थी समित श्रेष्ठलाई शुक्रबार यस्तै अनुभूति भयो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल सुनेर निस्कनुभएका श्रेष्ठले भन्नुभयो, “राजनीतिक दलका नेता र सांसद आफ्ना कुरालाई प्रस्तुत गर्न सिपालु हुनुहुँदो रहेछ ।” त्यसो त लोकतान्त्रिक व्यवस्थाका कारणले श्रेष्ठले जस्तै नेता र सांसदलाई सार्वजनिक आलोचना गर्न पाउने अवसर मिलेको पनि हो ।भविष्यमा राजनीतिमा लाग्न चाहना राख्ने कपनस्थित जोसेफ स्कुल कक्षा १० का श्रेष्ठ सहित १२० विद्यार्थी शुक्रबार संसद्को दर्शकदीर्घामा बैठक अवधिभर बसेका थिए । संसद् सचिवालयको अनुमतिमा विभिन्न विद्यार्थी र समूहको आग्रहमा पालैपालो दर्शकदीर्घामा बस्ने प्रबन्ध बमोजिम उनीहरु त्यहाँ पुगेका थिए ।अर्का विद्यार्थी सविन लिम्बूले संसद्का गतिविधिको प्रत्यक्ष अवलोकन गर्दा राजनीतिबारे आफूले सुनेका र पहिला बुझेका सोचलाई परिमार्जन गर्न सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । अवलोकनमा पुगेका कतिपय विद्यार्थी संसद् बैठकका झन्झटिला प्रक्रिया देखेर दिक्क मान्दै थिए । सुरक्षा जाँच र त्यहाँभित्रको औपचारिक वातावरणले उनीहरुलाई उकुसमुकुस पनि भएको अनुभूत भयो । सचिवालयले पानीको प्रबन्ध गरे पनि दिउँसो १ बजेको बैठकका लागि एक घन्टा अगाडि नयाँ बानेश्वर छिरेका विद्यार्थी साँझ ५ बज्दा भोकाइसकेका थिए तर पनि संसदीय गतिविधिबारेको उनीहरुको चासोको तिर्खा भने मेटिएको थिएन । बैठकमा महाभियोग प्रस्तावका साथै शून्य र विशेष समय अनि विभिन्न विधेयक प्रस्तुतिका कार्यसूचीमा छलफल भएको थियो ।सो स्कुलका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले संसदीय प्रणालीबारे विद्यार्थीलाई विद्यालय तहदेखि नै प्रत्यक्ष ज्ञान दिलाउन यस्ता भ्रमणफलदायी हुने बताउनुभयो । “सांसदले कसरी विषयवस्तुलाई राख्छन्, सभामुखले कसरी बैठक सञ्चालन गर्नुहुन्छ, छलफल प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेबारेमा विद्यार्थीले राम्ररी सिकेका छन् । यसको प्रभाव कस्तो पर्छ हामी मूल्याङ्कन र अभिलेखन गर्छाैँ ।”

Post Comment