लोकतन्त्रमा जनताले पाएको यही एउटा अधिकार हो बोल्न र लेख्न पाउने । यही एउटा अधिकार हो हाम्रा नव महाराजधिराजहरुले ड्यांगड्यांती लुट्दा हामी जनता घोक्रो फुट्ने गरी कराउन पाएको । तर जनता कराएको देख्ने यी नव महाराजाधिराजहरुको कुनै आँखा छैन र सुन्ने कुनै कान छैन । यिनीहरु क्षणिक स्वार्थमा जे पनि गर्छन भन्ने स्पष्ट भईरहेकै छ ।
मलाई थाहा छ: नकारात्मक बोलेर मात्रै केही हुन्न, आफूले नागरिकको हैसियतमा कति गर्न सकियो त्यो महत्वपूर्ण हुन्छ, तर पटक पटक जनताको बिश्वासमा बिष्ट्याउने नव महाराजाधिराजहरुले देशलाई प्रयोगशाला, बध़शाला बनाई बर्वाद बनाईरहँदा कसरी यिनीहरुको स्तुति गान गरिरहने हो र ? त्यसैले समय सन्दर्भ अनुसार कसैको समर्थन र कसैको बिरोध गर्नै पर्छ ।
पूर्व राजा ज्ञानेन्द्रले बिज्ञप्ति निकालेर हाल चलिरहेको सिलसिलालाई खबरदारी गरिरहँदा एकथरी नव युवराजधिराजहरु भुईचालो आए सरी आत्तिएको देखियो, मानसिक सन्तुलन खलबल हुने गरी बोलेको देखियो, केही बिश्लेषक भनाउँदाहरुले पूर्व राजाको यस बिज्ञप्तिलाई अहिले सम्मकै कडा बिज्ञप्ति भन्दै गोमन सर्पको उपमा दिए, बहालवाला गृहमन्त्रीले त पूर्व राजालाई जेल हाल्ने प्रस्ताव समेत मन्त्री परिषदमा गरेछन् : यो भन्दा ठूलो डर अरु के हुन सक्थ्यो ? च्वँ च्वँ !! यो डरले अब केही पक्कै हुन्छ ।
पूर्व राजा अहिले नागरिकको हैसियतमा छन् , तर उनी अझै पनि ठूलो शक्तिको केन्द्र हुन् , ईतिहाँसका प्रतिनिधि हुन्, संबिधानत: र ब्यवहारिक दुबै पक्षबाट उनले पनि आफ्नो बिचार ब्यक्त गर्न पाउनुपर्छ । राजाले बोलेको कुरालाई रोईलोको बिषय बनाउनु भन्दा राजनीतिक दलहरु आफू सच्चिनु पर्ने हो तर दिन प्रतिदिन सत्ता र यसको सेरोफेरोमा रहेर देशलाई बिखण्डन गर्न तर्फ उद्दत भईरहँदा त्यसको फाईदा कसले लिईरहेको छ ?
हो, जनताहरु जति बोले पनि नवमहाराजाधिराजहरु सुन्दैनन्, त्यहि जनताको मनको कुरा पूर्व राजाले बोल्दा किन यत्रो बितन्डा ? दलहरुलाई राजाको डर छ भने राष्ट्र र जनताको हितको लागि काम गर्नु पर्छ पर्दैन ? अहिलेका दलहरु लाई सबै भन्दा बढि पूर्व राजाकै डर रहेछ, पूर्व राजा कन्टेनरमा फालिएको फोहोर हैनन्, उनीसंग अझै पनि लाखौँ जनताहरुको सद्भाव छ ।
तर राजा फालेर ल्याएको गणतन्त्रमा नागरिकता र राष्ट्रियताको मुद्दा किन भारतद्वारा निर्देशित छ ? किन जनताको भावनामा लात हानी केही छोटे मोटेहरुलाई मुख्यमन्त्री बनाउन कसरत गरिदै छ ?
म राजावादी होईन, राजतन्त्र गणतन्त्रको बिकल्प पनि होईन, राजाहरुकै कारणले गर्दा नेपाल गरीब राष्ट्रको सूचीबाट अझै उक्लेको छैन भन्ने कुरा मलाई राम्ररी थाहा छ तर राजाकै दोष देखाएर ल्याएको गणतन्त्रको साँचों किन अन्तै छ ? किन गणतन्त्र भ्रष्टहरुको लागि मलिलो माटो भईरहेको छ ? किन नागरिकहरुले परिवर्तनको अनुभूति गरेका छैनन् ? किन केही छाडेर अरु सबै भ्रष्ट छन् ?
अचम्म छ: सबै जसो दलमा भ्रष्ट नेतृत्व छ, सबै जसो दलले गुण्डा पालेका छन् , एउटा निकायले दोषी ठहर्याएकाहरुलाई अर्को निकायले दुधले नुहाईदिन्छ, पार्टीहरुले ज्यानमारा, लुटेरा र समेत उन्मुक्ति दिन्छन । अकुत सम्पत्ति कमाउने र थुपार्नेहरु अमुक अमुक पार्टीको आशिर्वादले संरक्षित छन् । संबैधानिक निकायमा समेत भागबण्डा चल्छ, कसैलाई मन्त्री, मुख्यमन्त्री बनाउन संबिधान संशोधन गरिन्छ ! अव भन्नुस लोकतन्त्रको कसरी तारिफ गर्नू ! जनताहरु वाक्क भईसकेका छन्, यसै बेला पूर्व राजाले देश र जनताको बारेमा बोल्दा दलका नेताहरु सशंकित हुनु भनेको उनको शक्तिको स्विकार गर्नु हो । तर खोई त डराएको ?
दलहरुले जनताको हित बिपरित काम गर्दै जाँदा त्यसको फाईदा पूर्व राजाले लिन्छन भने यसमा दोष कस्को हो ? के पूर्व राजाले देशको बारेमा बोल्नै नहुने हो ? सबैलाई थाहा छ राष्ट्रियताको सवालमा राजाहरुको देन, सबैलाई थाहा छ राजाहरुले कमसेकम नेपाल भन्ने देश क़ायम गर्न केही उल्लेख्य काम गरेकै हुन् ।
अहिले नागरिकता र सिमांकनको बिषयमा संबिधान संशोधनको किचलो चलिरहेको छ । जसका लागि संघीयता चाहिएको हो त्यहीँका नागरिकहरु त्यसकै बिरोधमा छन्, दलहरु नै त्यसको बिरोधमा छन्, प्रमुख प्रतिपक्ष दलले त्यसको धुवाँधार बिरोध गरिरहेको छ तर पनि अरुकै कार्ड अनुसार संबिधान संसोधनको ढिपी किन गरिरहने ? यहि बिकृति बिरुद्द पूर्व राजा बोले भने त्यसलाई जीवन मरणको बिषय किन बनाईरहने ?
संबिधान जारी गर्ने बेला ९० प्रतिशत भन्दा बढि प्रतिनिधिहरुको समर्थनमा जारी गर्ने तर त्यसकै ढाडमा टेकेर ५-७ प्रतिशत भोट पाएका त्यो पनि जनताद्वारा बहिष्कृतहरुले जे जे भन्छन त्यतै बरालिने कस्तो खालको लोकतन्त्र हो ? यस्तो लुटतन्त्र बिरुद्द जनता बोलिरहँदा चुप लाग्ने तर ज्ञानेन्द्र बोल्दा भुकम्प ल्याउने ? यहि हो ज्ञानेन्द्रको शक्ति संग डराएको अवस्था, यदि हिम्मत भए पूर्व राजा संग राजनैतिक रुपमा प्रतिस्पर्धा गर हैन भने केही टाउकेहरुकै खटनमा देशलाई त्राही त्राही गर्न बाट खबरदारी गर्दा जनताले बिरोध हैन समर्थन गर्छन् ।
सामाजिक मिडियाहरु हेर: जनता के चाहन्छन् ? हिजो पूर्व राजालाई सत्तों श्राप गर्ने म र मेरो तप्काका नागरिकहरुले आज राजाले बोलेको कुरालाई किन सही भन्छन् ?
हो, संघीय शासन प्रणालीले देशमा बिकास र अधिकारलाई सन्तुलित गर्ला, पछाडि परे पारिएका बर्गको उथ्थान गर्ला तर दल र दलका नेतृत्वकर्ता यसै गरी सत्ताकै स्वार्थमा आ आफ्नै डम्फु बजाउने हो भने ब्यवस्था परिवर्तन हुँदैमा अवस्था परिवर्तन हुन्छ भन्ने ग्यारेन्टी कसरी गर्ने ? संसारमा धेरै देशहरु छन् जहाँ राजा भएर पनि बिकास भएको छ, राष्ट्रपति भएर पनि बिकास भएको छैन ।
जात अनुसारको सबै जातलाई संघीयता बाँड्न सकिदैन । यसो गर्ने हो भने नेपाल फेरि बाईसे चौबिसे राज्य जस्तै प्राय: हुन्छ, एउटै देश भित्रका राज्य परस्परमा शत्रु भएर पनि संघीयता सप्रन्न भाइचारा र सद्भाव चाहिन्छ, हिमालको शत्रु पहाड र पहाडको शत्रु तराई देख्नु अतिवादको पराकाष्ठा हो । बरु पूरानै पाँच प्रदेश या त्यो भन्दा सानो संघीय संरचनामा जाँदा के फरक पर्छ ? के देश कसैको स्वार्थको लागि भाग लगाईरहने ? अधिकार सम्पन्न तीन या पाँच राज्य र त्यसको केन्द्रीय राजधानी बनायो भने बेफाईदा के हुन्छ ? कसलाई बेफाईदा हुन्छ ?
पूर्ब राजा बोल्दा मानसिक सन्तुलन गुमाउनेहरु हो , एउटै मात्र जवाफ छ ? यो लोकतन्त्रका दश बर्षमा नागरिकले के पाए ? नागरिकले के पाए भनेर पूर्व राजाले सोध्दा त्यसको नैतिक रुपमा ज़िम्मेवारी लिनु पर्छ पर्दैन ? किन जनताका नाममा युद्द र सत्ता दुबै च्याँप्दा पनि जनता उस्तै छन् ? २०६२-६३ मा राजाले सत्ता लम्ब्याउन चाहेको भए त्यो रक्तपात कति लम्बिने थियो होला ? राजा सामान्य नागरिक भएर स्वदेशमै बस्नुको मतलब देश प्रतिको माया हो कि होईन ?
त्यसैले जनता चाहन्छन: ब्यवस्था हैन अवस्था खराब भो, बोलौँ बोलौँ पूर्व राजा ज्ञानेन्द्रज्यू : यी नव लेण्डुपेहरुको मानसिक सन्तुलन गुम्ने गरी बोलौँ, सडकमा आएर बोलौँ, यिनीहरुको तन्द्रा भंग हुने गरी बोलौँ, आज देशै नरहने गरी घात गर्न जे पनि गर्नेको कानको जाली फुट्ने गरी बोलौँ, राजा त होईन तर जनताको प्यारो राष्ट्रपति बन्ने भए नेपाली जनताले भोट दिने धेरै सम्भावना देखिदै छ । सडकमा जनता प्रतीक्षा गरी रहेका छन् । भिड्ने हो त ? मेरो पनि एक भोट तपाईलाई !