मधेस विरोधी पार्टी एमालेकै कारण उपलब्धि गुम्ने खतरा

मधेस विरोधी पार्टी एमालेकै कारण उपलब्धि गुम्ने खतरा
विचार

अहिले मुलुकको सबैभन्दा ठूलो चुनौती नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धि संस्थागत हुन्छ कि हुँदैन भन्ने हो । जनआन्दोलनबाट प्राप्त सम्पूर्ण उपलब्धिको रक्षा संविधानलाई संस्थागत गर्न सकिए मात्र सम्भव छ । अहिलेसम्मका आन्दोलनले निर्दिष्ट गरेका सिद्धान्त र मूल्य–मान्यताअन्तर्गत प्राप्त भएका उपलब्धि संविधानमा लिपिबद्ध भए कि भएनन्, त्यसको लेखाजोखा गर्नु पहिलो आवश्यकता हो । संविधानसभाले संविधान निर्माण गर्दाखेरि नै यो सवाल जोडदार रूपमा उठेको थियो । मधेससँग जोडिएका सबै सवाललाई संविधानमा लिपिबद्ध गर्न माग गर्दै संविधान जारी गर्ने वेलामा नै मधेसमा जोडदार रूपमा ऐतिहासिक र कठोर आन्दोलन भएको थियो । तर, मधेसका माग, मधेसी जनताका आवाज र एजेन्डालाई संविधानमा तत्कालीन समयको आवश्यकताविपरीत लिपिबद्ध गरिएन । संविधान भनेको मुलुकको मूल कानुन हो । तसर्थ, त्यसमा सम्पूर्ण नेपाली जनताको अपनत्व हुनुपर्छ । अहिले जनप्रतिनिधिले निर्माण गरी जारी गरेको संविधानप्रति सबै नेपालीको अपनत्व छ कि छैन, मुख्य प्रश्न त्यही हो । सबैले अपनत्व स्वीकार नगरेको संविधानको रक्षा गर्ने कसले ?

संविधान संशोधनको दायित्व तीन दलको
हिमाल, पहाड, तराई र मधेसमा बस्ने सबै वर्ग, जातजातिका अधिकार सुनिश्चित गर्ने गरी संविधान निर्माण भएको छैन । त्यसैले संविधानप्रति सबै जनताको ‘ममत्व’ छैन । सबै जनताले संविधानमा आफ्नो अधिकार हेर्न पाइरहेका छैनन् । विशेषगरी मधेसमा बसोवास गर्ने र आदिवासी जनजाति, दलित, उत्पीडित, पिछडावर्गले संविधान आफूहरूको अधिकार खोसेर निर्माण गरिएको महसुस गरिरहेका छन् । विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत नगरी बेइमानी गरिएको, धोका दिएर बनाइएको संविधानप्रति आमनेपाली जनताले अपनत्व स्वीकार नगरेपछि कसरी कार्यान्वयन होला ? गलत नियत लिएर निर्माण गर्नेहरूले कसरी कार्यान्वयन गर्न सक्लान् ? संविधान त जनताले स्वीकार गरेर आत्मसात् गरेपछि न कार्यान्वयन हुने हो । अहिले त्यो अवस्था बनिरहेको छैन । त्यसैले सम्पूर्ण नेपालीको दस्ताबेज बन्न नसकेकाले संविधानलाई सोअनुरूप बनाइनुपर्छ । सरकारले व्यवस्थापिका–संसद्मा टेबल गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर ‘हाम्रो संविधान, राम्रो संविधान’का रूपमा विकसित गरिनुपर्छ । परिमार्जन नगरी संविधान कार्यान्वयन र त्यसमा उल्लिखित उपलब्धिको रक्षा हुन्छ भन्नु दुनियाँलाई झुक्याउने रणनीति मात्र हो ।

संविधानलाई जनताको संविधानका रूपमा विकसित गर्ने प्रमुख दायित्व मुख्य तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्रको हो । किनकि, उनीहरू मिलेर सबैका अधिकार नसमेटी बलमिच्याइँका आधारमा निर्माण गरी जारी गरेका हुन् । जसले काम बिगार्‍यो, भूल सुधार पनि उसैले गर्नुपर्छ । अपूर्ण रहेको संविधानलाई पूर्ण बनाउन, सबैले स्वीकार गर्ने बनाउन पहिला कांग्रेस, एमाले र माओवादीबीच जिम्मेवारीबोधका साथ कहाँ–कहाँ, के–के संशोधन गर्नुपर्छ, सरकारले संसद्मा टेबल गरेको संशोधन प्रस्तावमा के–के परिमार्जन गर्नुपर्छ भन्ने सहमति बन्नुपर्ने हो । तर, अहिलेसम्म उनीहरूबीच नै संविधानलाई सर्वस्वीकार्य बनाउन मतैक्य हुन सकिरहेको छैन ।

संविधानमा स्पष्ट रूपमा उल्लेख गरिएको छ, ‘२०७४ माघ ७ गतेभित्र स्थानीय, प्रदेश सभा र संघीय संसद्को निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’ संविधान संस्थागत तब हुन्छ, जब संविधानमा उल्लेख भएबमोजिमका संस्थाको निर्वाचन नियम र कानुनसम्मत रूपमा हुन्छ । अहिलेसम्म एक त संविधान सर्वस्वीकार्य भएको छैन । त्यसपछि पहिले केको निर्वाचन गर्ने भन्ने विवाद छ । संविधानको असली कार्यान्वयनका लागि पहिला संसद्को र त्यसपछि प्रदेश सभाको निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचनले कसरी संविधान कार्यान्वयन हुन्छ ? त्यसैले सरकारले स्थानीय निर्वाचनका लागि जुन बल दिएको छ, त्यो संविधान कार्यान्वयन नगर्नका लागि हो । दोस्रो, विश्वव्यापी रूपमा हेर्दा स्थानीय निकाय प्रान्तमातहत हुन्छ । त्यसैले पहिला प्रान्तको निर्वाचन गर्ने, त्यसपछि त्यही प्रान्तको निर्णयअनुरूप स्थानीय निकायको पुनर्संरचना गरेर बल्ल स्थानीय निर्वाचन गरिनुपर्ने हो । तर, यहाँ उल्टो–उल्टो भइरहेको छ ।

गाउँपालिकाको विभाजन अमान्य
अहिले स्थानीय निकाय पुनर्संरचना आयोगले गरेका गाउँपालिका र नगरपालिकाको विभाजन वैज्ञानिक पनि छैन, जनसंख्याको आधारमा पनि छैन । ५१ प्रतिशत जनसंख्या रहेको मधेसलाई २२ प्रतिशत मात्रै गाउँपालिका र नगरपालिकाको हिस्सा दिइएको छ । यसले मधेसमा जनसंख्याको आधारमा अधिकार कुण्ठित, विकास बजेटमा कमी तथा राष्ट्रपति–उपराष्ट्रपतिमा मतदानको अधिकारलाई वञ्चित गर्ने काम गरिएको छ । मधेसमा नयाँ ढंगले विभेद गर्ने काम पुनर्संरचना आयोगले गरेको छ । यस्तो विभाजनमा मधेसमा स्थानीय निर्वाचन हुनै सक्दैन । त्यसमाथि पहिला अपूर्ण रहेको संविधानलाई परिमार्जनसहित संशोधन गरेपछि मात्रै निर्वाचनको विषय अघि आउँछ । जनताका एजेन्डालाई बीचैमा अलपत्र पारेर मुलुकलाई निर्वाचनमय बनाउन कसरी मिल्छ ? जनताको समस्या हल नगरी कुनै पनि निर्वाचन हुँदैन, हुन दिइन्न भन्ने मधेसी मोर्चाको पहिलो र निर्विकल्प अडान हो ।

एमाले परिवर्तनविरोधी
अहिले सरकारले मधेसका समस्या जहाँको त्यहीँ छाडेर स्थानीय निर्वाचनको घोषणा तयारी गरिरहेको छ । सरकारको गलत निर्णय मोर्चालाई कदापि मान्य हुन सक्दैन । जसका माग पूरा गर्न भन्दै सरकारले प्रस्ताव ल्यायो, त्यही पक्ष (मधेसी मोर्चा)सँग कुनै सल्लाह नै नगरी आन्दोलनका एजेन्डा नसमेटिने गरी ल्यायो । त्यसमा हामीले विरोध गरेपछि परिमार्जन गर्न सहमति जनाइयो । तर, के–के परिमार्जन गर्न सकिने हो, सरकारी पक्षबाट प्रस्ट कुरा आइसकेको छैन । प्रस्ताव पारित गर्न दुईतिहाइ मत सरकारसँग छैन । त्यो मोर्चाले बुझेको छ । दुईतिहाइ पुर्‍याउन मुख्य रूपमा एमाले बाधक बनिरहेको छ । एमाले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिने पक्षमा छ । कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर बनाएको संविधानमा माओवादी केन्द्र र कांग्रेस संशोधनका लागि तयार देखिए पनि एमाले त्यसको विपक्षमा उभिँदा दुईतिहाइको अभावमा संविधान पूर्ण नहुनेजस्तो देखिन्छ ।

यसले के देखाउँछ भने एमाले मधेसी, जनजाति, मुस्लिम, थारू र दलितलाई अधिकार दिने परिवर्तनका एजेन्डाका विरुद्धमा छ । मधेस आन्दोलनमा जनताले उठाएका एजेन्डालाई संविधानमा संशोधनमार्फत समाहित नगर्ने दलका रूपमा एमालेले आफूलाई उभ्याएको छ । तसर्थ, संविधान संशोधनको दुस्मन एमाले हो । त्यसैले मधेसविरोधी पार्टी एमाले हो । एमालेलाई मधेसी जनता चाहिँदैन भने मधेसी जनतालाई एमाले किन चाहियो भन्ने नारा मधेसमा चर्को रूपमा लाग्न थालेको छ । एमालेमुक्त मधेसको परिकल्पना हुन लागेको छ । मधेसका जनताको यो भावनालाई एमालेले गम्भीरताका साथ बुझ्न आवश्यक छ । र, जनताको पीडामा मल्हम लगाउन पहल गर्दै एमालेले जिम्मेवार पार्टीका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ ।

निष्कर्ष
मधेसी मोर्चा कुनै पनि बहाना देखाएर संशोधन गर्न गरिने आलटाल मान्न तयार छैन । जसरी संविधान निर्माणका वेला तीन पार्टी एकजुट भएका थिए, त्यसैगरी संशोधन गरी मधेसका माग पूरा गर्न पनि एकजुट हुनुपर्‍यो भनेर मोर्चाले भनिरहेको छ । कहिले यो मानेन, कहिले ऊ मानेन भनेर हामीलाई भनिरहन जरुरी छैन । मधेसलाई शोषण र विभेद गर्ने वेला एक हुने, अधिकार र न्याय दिने वेलामा कहिल्यै एक नहुने, त्यो मोर्चालाई मान्य छैन । आवश्यक परिमार्जनसहितको संशोधन गरी जनताको उपलब्धि संस्थागत गरेर रक्षा गर्ने दायित्व तीन दलको हो । त्यसपछि मात्रै संविधानमा उल्लिखित समयमा निर्वाचन गर्ने वातावरण निर्माण हुन सक्छ । तर, एमालेले देखाएको बेइमानीका कारण ६५ वर्ष लामो संघर्षमार्फत जनताले प्राप्त गरेको उपलब्धि गुम्ने खतरा व्याप्त छ । यही अवस्थामा रहेमा ‘रक्षक नै भक्षक’ हुनेछन् । जतिवेला ०६२-६३ को आन्दोलन भइरहेको थियो, त्यतिवेला अहिलेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘अहिले आन्दोलनकारी दलहरूले उठाएका एजेन्डा पूरा हुनु भनेको ‘बयलगाढा चढेर अमेरिका पुगेजस्तै हो’ भन्ने टिप्पणी गरेका थिए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने एजेन्डा उठाउनेहरूले जनतालाई झुक्याइरहेका छन् भन्ने उनको तर्क थियो । अहिले पनि त्यो इन्टरनेटमा छ्यापछयाप्ती पाइन्छ । अहिले आफ्नो चाहनाविपरीतको उपलब्धि आएपछि कसरी समाप्त पार्ने भन्ने खेलमा सिंगो एमाले र ओली लागिरहेका छन् । त्यति मात्र होइन, यहाँ कतिपयलाई संघीयता, गणतन्त्र र लोकतन्त्र पनि चाहिएको छैन । उनीहरू संविधानलाई पूर्ण बनाउन नदिएर फेल गराउने रणनीतिमा लागेको घटनाक्रम हेर्दा विश्लेषण गर्न सकिन्छ । र, संघीय लोकतान्त्रिक गणतन्त्रलाई असफल बनाउन लागेकाहरू संविधान फेल बनाएपछि सबै आफैँ फेल भइहाल्छ भन्दै अनेकौँ तिकडम गरिरहेका छन् । त्यो कतै एमालेको नेतृत्वमा हुन त लागेको हैन भन्ने शंका हाम्रो हो ।

नयाँपत्रिका बाट

Post Comment