चुनावमा वामपक्षधर गठबन्धनको ठूलो विजय भएको छ । त्यो विजय सर्वप्रथम र मुख्य रूपले देशमा वामपन्थी जनमत अत्यन्त प्रवल भएको र अर्कातिर, संसदभित्र र बाहिर राष्ट्रियताको रक्षा, भारतीय विस्तारवादका विरुद्ध तथा दोस्रो संविधान संशोधनका विरुद्ध चलेको आन्दोलनले तयार पारेको जनमतको पनि परिणाम हो । त्यो सङ्घर्षमा एमालेको महत्वपूर्ण भूमिका रहेको थियो । माओवादी केन्द्रले ने.का.सित सम्बन्ध तोडेर वामपक्षधर शक्तिहरूसित मिलेर गठबन्धनको निर्माण गरेकाले पनि चुनावमा वामपक्षधर शक्तिहरूको विजयका लागि मद्दत पुग्यो । बताइरहनुपर्ने आवश्यकता छैन कि चुनावमा जुन नीतिहरूको विजय भयो, ती नीतिहरूको पक्षमा ने.क.पा. (मसाल) र राष्ट्रिय जनमोर्चाले सधैँ दृढ र सम्झौताहीन नीति अपनाउँदै र सङ्घर्ष गर्दै आएको थिए । त्यसबाट पनि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता समेतका पक्षमा जनमत तयार पार्न महत्वपूर्ण मद्दत पुगेको थियो ।
हाम्रो पार्टीले वामपक्षधर गठबन्धनसित चुनावी तालमेल गर्ने र तालमेल नभएका स्थानहरूमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने नीति अपनाएको थियो । बाग्लुङ र प्यूठानमा औपचारिक रूपमा नै तालमेल गर्ने सहमति भएको थियो भने अर्घाखाँची, गुल्मी र डडेलधुरामा हामीले वामपक्षधर गठबन्धनका उम्मेदवारहरूलाई समर्थन गर्ने नीति अपनाएका थियौँ । बैठकले त्यस प्रकारको तालमेलको नीतिका कारणले प्यूठान र बाग्लुङमा राष्ट्रिय जनमोर्चा, एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूको शानदार प्रकारले विजय भएको छ । त्यसबाट चुनावसम्बन्धी हाम्रो तालमेलको नीति सही भएको प्रमाणित भएको छ । प्रदेश नं. ४ र ५ मा समानुपातिकतर्फ हाम्रो १/१ जना समानुपातिक प्रतिनिधिको विजय भएको छ । अन्यत्र हाम्रा कुनै उम्मेदवारले जितेका छैनन् । चुनावको परिणाम हाम्रो सङ्गठनको स्थिति र अवस्था अनुसार नै छ । देशव्यापी रूपमा हाम्रो सङ्गठनको स्थिति कमजोर भएकाले नै चुनावमा हामीले खास सफलता प्राप्त गर्न सकेनौँ । त्यो स्थितिमाथि ध्यान दिदै केन्द्रीय समितिको बैठकले सङ्गठनको विस्तारका लागि योजना र ठोस प्रकारले काम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फको मत पहिलेभन्दा कम आएको छ । त्यसको मुख्य कारण के रह्यो भने चुनावमा सबैजस्तो जिल्लाहरूमा मुख्य जोड प्रत्यक्ष चुनावतर्फ नै दिइयो र समानुपातिकतर्फका उम्मेदवारहरूको प्रचारमा ध्यान कम गयो । आर्थिक स्थितिका कारणले कार्यकर्ताहरूको आवश्यकतानुसार परिचालन हुन नसक्दा पनि केन्द्रीय समानुपातिकतर्फको भोटमा कमी आयो । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन हामीलाई धेरै माथिल्लो तहको सङ्गठनको विस्तार र परिचालनको आवश्यकता थियो । त्यो दिशामा हामीले उल्लेखनीय काम गर्न सकेनौँ र त्यसबारे बनेका योजना पनि सफल हुन सकेनन् । त्यसबाट चुनावको सम्पूर्ण परिचालनको साथै प्रतिनिधिसभाको समानुपातिकतर्फको परिणाम पनि प्रभावित भयो ।
वामपक्षधर शक्तिहरूको विजयबाट समाजवाद उन्मुख र प्रगतिशील नीतिहरूलाई व्यवहारिक रूप दिन प्रयत्न गर्नका लागि पनि सम्भावना देखापरेको छ । त्यसको अर्थ देशमा समाजवादी व्यवस्था कायम गर्नु नै सम्भव छ भन्ने होइन । त्यसका लागि विद्यमान अवस्थामा आमूल परिवर्तन गर्नुपर्ने आवश्यकता हुनेछ । त्यसको अर्थ हुन्छ, अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्थाको अन्त, जनवादी सत्ताको निर्माण र उच्चस्तरमा औद्योगिक विकास । ती उद्देश्यहरू सर्वहारा वर्गको पार्टीको नेतृत्व, क्रान्तिकारी संयुक्त मोर्चा र लामो क्रान्तिकारी आन्दोलनपछि नै सम्भव हुन सक्दछन् । अहिले हामीले समाजवाद उन्मुख नीति र कार्यक्रमहरूको सम्भावनाको जुन कुरा गरिरहेका छौँ, त्यो समाजवादी व्यवस्थाभन्दा धेरै तलको र त्यसको प्रारम्भिक र सीमित रूप नै हो ।
समाजवाद उन्मुख नीति र कार्यक्रमको अर्थ सीमित रूपमा समाजवादी प्रकारका नीति र कार्यक्रमहरू लागू गर्ने प्रयत्न हो । अर्का शब्दमा त्यसको अर्थ सीमित र प्रारम्भिक रूपमा समाजवाद उन्मुख र प्रगतिशील नीतिहरूको कार्यान्वयनका लागि प्रयत्न गर्नु नै हो । तर त्यसका लागि पनि सीधा र सजिलो बाटो छैन । त्यसका लागि गर्ने प्रयत्नहरूलाई पनि देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले बाधा पुर्याउने वा असफल पार्न पूरा शक्ति लगाउने छन् । त्यो बाहेक स्वयं वामपक्षधर शक्तिहरूमा पहिलेदेखि नै विद्यमान दक्षिणपन्थी, ढुलमुल, अवसरवादी वा सम्झौतापरस्त प्रवृत्तिहरूका कारणले त्यस प्रकारका नीतिको कार्यान्वयनमा बाधा पुग्ने छ । त्यो अवस्थामा समाजवाद उन्मुख वा प्रगतिशील नीतिहरूमा जनचेतना उठाउन, जनआन्दोलन सङ्गठित गर्न र जनदवावको सृजना गर्न हामीले लगातार प्रयत्न गरिरहनु पर्दछ ।
एमाले र माओवादी गठबन्धनले चुनावमा ने.का.को गठबन्धलाई हराउन महत्वपूर्ण योगदान दियो । त्यसबाट देशमा स्थिर सरकार र समाजवाद उन्मुख नीतिको पक्षमा आधार पनि तयार भएको छ । तर एकातिर, देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले वामपक्षधर शक्तिहरूका बीचमा फुट पार्नका लागि खेल्ने षडयन्त्रकारी भूमिका र अर्कोतिर, स्वयं वामपक्षधर शक्तिहरूका बीचमा सत्ता वा भागबन्डाका लागि चल्ने प्रतिस्पर्धा वा दाउपेचका कारणले गठबन्धन टुक्रिने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यसो भयो भने चुनावमा जनताले उनीहरूमाथि जुन विस्वास गरेका थिए, त्यससित धोका हुनेछ र त्यसका कैयौँ गम्भीर प्रकारका राजनीतिक दुष्परिणामहरू हुनेछन् । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि समेत गम्भीर आघात पुग्ने खतरा हुनेछ । त्यस कारण वामपक्षधर शक्तिहरूका बीचमा देखापर्ने त्यस प्रकारका नकारात्मक प्रवृत्तिहरूप्रति हामीले सम्बन्धित पक्षहरूको ध्यान आकर्षित गराउन चाहन्छौँ ।
प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा हाम्रा जुन जनप्रतिनिधिहरूको विजय भएको छ, उनीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न बढीभन्दा बढी सहयोग गर्ने र आवश्यक निर्देशन दिने हाम्रो नीति हुनेछ र हुनुपर्दछ । वर्तमान संसदीय प्रणालीद्वारा जनताका आधारभूत समस्याहरूको समाधान सम्भव छैन । तैपनि वर्तमान व्यवस्थालाई उपयोग गर्दै जनताको अधिकतम सेवा गर्ने तथा जनताको चेतना, सङ्गठन र सङ्घर्षको स्तरमाथि उठाउने हाम्रो प्रयत्न हुनुपर्दछ । त्यसका साथै जनताका बीचमा आन्दोलन सङ्गठित गरेर शोषित, पीडित जनता तथा विभिन्न समुदायहरूका माग पूरा गर्न जनआन्दोलन सङ्गठित गर्ने र वर्गसङ्घर्षलाई पनि अगाडि बढाउने हाम्रो नीति र प्रयत्न हुनुपर्दछ ।
यो स्पष्ट छ कि अहिले चुनावमा वामपक्षधर शक्तिहरूको जुन जित भएको छ वा उनीहरूको जुन सरकार बन्नेछ त्यसबाट देशमा आमूल परिवर्तन हुने छैन र जनताका आधारभूत समस्याहरूको पनि समाधान हुने छैन । तैपनि चुनावमा वामपक्षधर शक्तिहरूको जुन जित भएको छ त्यसको महत्वलाई कम आँक्नु पनि सही हुने छैन । विश्वभरका साम्राज्यवादी शक्तिहरू, भारतीय विस्तारवाद वा नेपालका प्रतिक्रियावादी शक्तिहरूले पनि त्यो विजयलाई गम्भीर रूपमा लिनेछन् र उनीहरूलाई असफल पार्न, उनीहरूलाई सत्तामा जान नदिन वा उनीहरूलाई सत्ताच्यूत पार्न उनीहरूले (देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले) पूरा शक्ति लगाउने छन् । संसारका विभिन्न देशहरूमा साम्राज्यवादी शक्तिहरूले चुनावमा वामपक्षधर शक्तिहरूको विजय, उनीहरूले बनाउने सरकार, उनीहरूले अपनाउने प्रगतिशील नीति वा साम्राज्यवादका विरुद्ध र राष्ट्रियताको पक्षमा लिने अडानका कारणले उनीहरूलाई असफल वा पदच्यूत गर्न गरेका कारवाहीहरूका कैयौँ उदाहरणहरू छन् । नेपालमा पनि त्यस प्रकारको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । वामपक्षधर शक्तिहरूको वा उनीहरूको सरकारको पतन भयो भने गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता समेतमा गम्भीर आघात पुग्ने सम्भावनाप्रति उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
व्यवहारबाट नै सङ्घीयता देशका लागि उपयुक्त नभएको र सङ्घीयता नेपालको हितमा नभएको कुरा झन्पछि झन् प्रष्ट हुँदै गइरहेको छ । त्यसबाट देशमा जातीय र क्षेत्रीय विग्रह बढ्दै जानुका साथै राष्ट्रिय विखण्डनको स्थिति पनि तयार हुँदै गइरहेको छ । त्यो कुरा सबैभन्दा बढी तराईमा विष्फोटक रूपमा देखा परिरहेको छ । अहिले दुई नं. प्रदेशमा पृथकतावादी तत्वहरूको जुन विजय भयो, त्यसले पनि स्थितिको गम्भीरतालाई बताउँछ । त्यो बाहेक प्रादेशिक संरचनाको बोझ धान्न नेपाल असमर्थ हुँदै गइरहेको कुरा पनि झन्पछि झन् प्रष्ट हुँदै गइरहेको छ । त्यसैले संसदभित्र र बाहिर पनि सङ्घीयताका विरुद्ध सङ्घर्षमा लगातार जोड दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ ।
हाम्रो पार्टीले चुनावका बेलामा वामपक्षधर शक्तिहरूको गठबन्धनसित चुनावी तालमेलको नीति अपनाएको थियो र अहिले पनि पारस्परिक सहमति हुने विषयमा उनीहरूसित कार्यगत एकता गर्ने हाम्रो नीति हुनेछ । तर त्यसका साथै उनीहरूसित मतभेद भएका विषयहरूमा सङ्घर्ष गर्ने र आफ्नो स्वतन्त्र पहलमा पनि कार्यक्रमहरू अगाडि बढाउने हाम्रो नीति हुनेछ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गर्ने घोषणा गरेका छन् । तर हामीले त्यस प्रकारको एकतामा सामेल हुने कुनै निर्णय गरेका छैनौँ । तैपनि पार्टी एकतासित सम्बन्धित सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक प्रश्नहरूमा एमाले, माओवादी केन्द्र वा देशका अन्य कुनै वामपक्षधर शक्तिहरूसित वा सार्वजनिक रूपमा पनि बहस गर्नका लागि हाम्रो ढोका खुला हुनेछ । त्यस प्रकारको बहसको दौरानमा नै कुन पक्षसित पार्टी एकता हुने छ वा हुने छैन ? त्यो कुरा प्रष्ट हुँदै जानेछ । जेहोस्, त्यसबारे हाम्रो यो दृढ मत छ कि माक्र्सवादी–लेनिनवादी सिद्धान्त, राजनीतिक लाइन र सङ्गठनात्मक प्रश्नहरूका आधारमा नै पार्टी एकता हुन सक्दछ र हुनुपर्दछ । त्यसरी कुनै पक्षसित पार्टी एकता हुन सक्यो भने त्यसलाई स्वीकार गर्ने हाम्रो नीति हुनेछ ।
–२०७४ पौष २२ गते