राष्ट्रपतिको टीका : यतिविघ्न हुँदा पनि किन राष्ट्रपति कार्यालय चुप?

राष्ट्रपतिको टीका : यतिविघ्न हुँदा पनि किन राष्ट्रपति कार्यालय चुप?
विचार

मलाई पछिल्लो घटनाक्रम र परिस्थितिले आजभन्दा ७ वर्ष अघिको त्यो दिन स्मरण गराएको छ। २०६८ असोज १९ गते, विजया दशमीको टीकाको दिन। यही दिन हो जतिबेला मैले राष्ट्र प्रमुखको हैसियतमा पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग दशैको टीका ग्रहण गरेको थिएँ।

सञ्चार कर्ममा लागेको मान्छे, चाहेर पनि सबै चाडपर्व हाम्रा लागि रहर मात्रै बन्दैनन्, कतिपय चाड आफन्त र आफ्नाबाटै टाढै रहेर मनाउनुपर्ने हुन्छ। दशैँमा घर जान नपाएपनि राष्ट्र प्रमुखको हातबाट टीका थाप्न पाएकोमा मख्ख थिएँ। थुप्रै आफन्त र साथीभाइले बधाई दिएका थिए, मलाई पनि राष्ट्रपतिसँग टीका थाप्ने इच्छा छ, खै सबैको इच्छा कहाँ पुरा हुन्छ र पनि भनेका थिए।

सात वर्ष अघि, पहिलो राष्ट्रपतिबाट टीका थाप्नेहरुको भीड निक्कै ठूलो थियो। त्यो दिनको झण्डै आधा दिन जति राष्ट्रपतिको सरकारी निवास शितल निवासमै बिताएको थिएँ, मैले। किनकि विशिष्ट व्यक्तिहरुको राष्ट्रपतिसँगको टीका ग्रहणको दृश्यांकन गरेर खबर पस्कनुपर्ने जिम्मेवारी मेरो काँधमा थियो।

त्यो टीकामा मैले विभेद पटक्कै देखिनँ। उभिएर वा बसेर आफ्नु अनुकूलता अनुसार टीका ग्रहण गरिएको थियो। त्यो दिन कसैलाई पनि कुर्सी थिएन।

विगत स्मरण गरिरहँदा वर्तमानले भने कताकता मलाई गिज्याइरहेको छ। कारण राष्ट्रपतिको टीका विभेद र सर्वत्र भैरहेको चर्चा परिचर्चा र हिजो मेरो मानस पटलमा घुमिरहेको छ। राष्ट्रपति कार्यालय र सरकारले टीकामा उठेको प्रश्नमा जवाफ नदिइरहँदा मेरो मनले आफैलाई सोधिरहेको छ– घुँडा टेक्ने दोषी कि टेकाउन बाध्य पार्ने ?

हैन, दृश्य पनि गजब कै छन्, नातागोता, प्रधानमन्त्री मन्त्रीगण केही विशिष्टले कुर्सी पाएका छन्, आसन पनि गज्जबकै छ। तर प्रहरी प्रमुख, पूर्व विशिष्ट अनि केही नेतागण घुँडा धसेर टीका ग्रहण गर्ने। अति नै बेमेल बाहिरिएको छ। विभेद झल्किएको छ।

अहँ, यति हुँदा पनि राष्ट्रपति कार्यालय बोल्दैन, सरकार बोल्दैन। मेरो अन्तरआत्माले जवाफ मागिरहेको छ, गणतन्त्र र राष्ट्र प्रमुखको गरिमा नै घटाउने लज्जाबोध किन भैरहेको छ?

हिजो मलाई राष्ट्रपतिबाट टीका लगाउन पाए हुन्थ्यो नि, खै कसरी आउला र मौका भन्नेहरु नै अहिले भन्न थालेका छन् – नव सामन्तहरुसँग टीका लगाउनु परेको छैन। तन्त्र फेरिएपनि प्रवृत्ति फेरिएनछ। सार्वभौम सत्ता जनातामा निहित भनिएपनि पारा उहि राजा र रैती जस्तै। मलाई बुज्रुक ठानेर जवाफ खोजिरहेका छन् मेरा आफन्त र साथीभाइहरु। तर म नाजवाफ छु । मेरो मन बोलिरहेका छ, म जस्तै हजारौँ सामाजिक सञ्जालमा बोलिरहेका छन् । तर अहँ न राष्ट्रपति कार्यालय बोल्छ न सरकार नै।

लोक हँसाउने म जस्ता धेरैको स्वाभिमान गिराउने हदैसम्मको लज्जाबोध अब दोहोरिनु हुन्न । बाहिर केही नबोले पनि घुँडा टेक्नेहरुको आत्मा यसैगरि बोलिरहेको होला ? मनमनै भित्रभित्रै । बश, मेरो भन्नु पनि यति हो, राष्ट्रपति पद र संस्थाको गरिमा बचाउनुपर्छ।

Post Comment