सामाजीक संस्था भन्ने बित्तिकै समाजमा बस्ने बिभिन्न जात, भाषा, लिङ्ग, बर्ण, पेशा, समुदायका मान्छेहरुहरुको साझा घरका रुपमा बुझ्ने प्रचलन छ। जुन घरमा बसेर इमान्दारी पुर्बक समाजको सामुहिक स्वार्थलाई केन्द्र बनाएर समाजमा बिध्यमान समस्याहरुको पहिचान गरि सो समस्यालाई एक जुट भएर बिभिन्न श्रोतहरुको खोजि गरि समाधान गर्दै जाने, समाजमा तत्काल कुनै समस्या आइहालेमा संस्थाको छाता मुनि एकजुट भएर सामना गर्ने, समाजमा भएका खास गरि कम्जोर र बिपन्न बर्गका सदस्यहरुलाई मूलप्रवाहमा समाहित गर्न आबश्यक पहल गर्ने जस्ता पवित्र उद्धेश्य ले स्थापना भएका हुन्छन। सामाजीक संस्थामा काम गर्ने व्यक्तित्वहरु स्वयम् सेवकका रुपमा निस्वार्थी भै संस्थामा कुनै व्यक्तिगत महत्वाकांक्षा नराखी नितान्त सेवा भावले काम गर्नु पर्दछ ।
नेपालबाट पढाइ, रोजगारी लगायत धेरै उद्धेश्यले विश्वका कुना कुनामा छरिएर रहेका बिभिन्न जात, भाषा, लिङ्ग, बर्ण, पेशा, समुदायका मान्छेहरुहरुको संख्या आजको दिनमा साठी लाखको हाराहारीमा पुगी सकेको छ । यति ठुलो संख्यामा बिदेशिएका नेपालीहरुका बीच अहिले बिदेशमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र विश्व स्तरका संजाल भएका सामाजिक संस्थाहरु खोल्ने होडबाजी नै चलेको छ । जातीय, धार्मिक, क्षेत्रीय, बर्गीय, लैंगिक, राजनैतिक, गैह्र राजनैतिक संस्थाहरु खुलेका छन् । विश्वका अन्य देशका तुलनामा बिकसित मुलुकमा यस्ता संस्था धेरै खुलेका छन् । जनाधार हेर्ने हो भने यी संस्थाहरुमा हजारौ सदस्य भएका देखि आफ्नै परिवारका सदस्य बसेर खोलेका संस्थाहरु पनी छन् । तर के यी संस्थाहरु निर्दिष्ट उद्धेश्य अनुरुप काम गरि रहेका छन् त ? यो एउटा गम्भीर प्रश्न हो । आजकल बिदेशमा भएका सामाजीक संस्थाहरु सर्बसाधारणको सहयोगमा भन्दा बढी संस्थाका पदाधिकारीहरुको व्यक्तिगत प्रतिष्ठा आर्जन, विलासी मनोरंजन र खादा र आसन ग्रहणमा अत्यधिक केन्द्रित भएको देखिन्छ ।
उदाहरणका लागी, एउटा नेपाली अमेरिकाको कुनै सहरमा आयो भने उसलाई समाजको मूल प्रवाहमा समाहित गर्नको लागी सामाजिक संस्थाले सहयोग गर्नु पर्दछ । तर यो अबस्थामा समाजमा कुनै समाजसेवी भेटिदैन, सके सम्म कसैको फोन उठ्दैन, उठ्यो भने बिजी भएको रुखो जवाफ सुनिन्छ । त्यस पछि सुरु हुन्छ नव आगन्तुकको संघर्षका दिन । समाजमा आफ्नै ब्यबसाय गरेर बसेका कतिपय नेपालीले नेपालीलाइ सजिलो संग जागीर नदिएको र बिभिन्न किसिमका शोषण गरेको खबर पनी सुन्न पाइन्छ । आफु नेपाली भएर आफ्ना नेपाली दाजु भाइलाई साधारण सहयोग गरेको समेत पैसा असुल्ने नेपाली हाम्रै समाजमा छन् । प्रसासनिक काममा औपचारिकताको लागी पेश पर्ने कागजमा सहि गरे बापत पैसा माग्ने पनी समाजसेवी छन् । नया आगन्तुकलाइ यस्ता समस्या झेल्दै अगाडी बढ्नु पर्ने दुर्भाग्य पूर्ण अवस्था आउने गरेको छ ।
तर अर्को कटु यथार्थ भनेको अमेरिका अबसर नै अवसरको देश हो । ढिलो चाडो सबैले आफ्नो गक्ष अनुसारको काम पाई हाल्छन । जब त्यो व्यक्ति काम गर्न थाल्दछ, त्यस पछि समाजसेवीहरु अगाडी देखिन थाल्दछन । उनीहरु समाज सेवाका महत्वहरु पढाउन थाल्दछन । बिभिन्न अवसरहरु पारेर भोज भतेर तथा मनोरंजनका कार्यक्रमहरुमा आउने निम्तो दिदै कार्यक्रमका टिकटहरु किन्न दबाब दिन थाल्दछन । टिकट किनेर गए पछि “चिकेन लेग” पोलेर तयार पारिएको हुन्छ । जाने बित्तिकै भोज खान दबाब दिइन्छ – वहाहरुले आफ्नालाई बोलाई बोलाइ आसन ग्रहण गर्नु हुन्छ, भाषण सुनाउनु हुन्छ, आफै आफै बिभिन्न सस्ता विभूषण बाडेर खादा लगाउनु हुन्छ, प्रमाण-पत्रहरु बाडेर लिनु हुन्छ । त्यो नव आगन्तुक सदस्य अनुहार चाउरी पार्दै ताली बजाई रहन्छ र कार्यक्रम सकिए पछि घर फर्कन्छ । उसलाई कसैले सोध्दैन उसका के के समस्या छन, उ संस्थाबाट कस्तो सहयोगको अपेक्षा गर्दछ । त्यसैले उसलाई त्यो संस्था प्रती कुनै श्रद्धा रहदैन । किन भने त्यो संस्था उसको लागी भोज भतेर गर्ने धनी मानीको क्लब “एलाइट क्लब” जस्तो लाग्छ । त्यसैले अधिकांश नेपाली सामाजीक संस्थामा बार्षिक साधारण सभा गर्ने बेलामा “मेम्बरसीप द्राइभ”का नाममा सर्बसाधारणलाइ बिभिन्न किसिमका प्रलोभन र दबाब दिएर सदस्यता वितरण गर्ने गरिन्छ । यदि यी संस्थाहरु सर्बसाधारणको दु:खका साथी बन्ने हो भने मान्छेहरु खोजि खोजी आउछन । संस्थाको सदस्य भएकोमा गर्भ गर्दछन । समाजमा कुनै काम गर्दा त्यो काम कसरि समुदायको हितमा अत्यधिक उपयोगी बनाउन सकिन्छ भनेर सोच्नु पर्दछ । तर हाम्रो समाजमा स्वनामधन्य समाजसेवीहरु कुनै काम गर्दा आफ्नो नाम कहाँ आउछ भन्ने चिन्ताले ग्रसित भएको देखिन्छ ।
सामाजीक संस्थामा कुनै भूमिकामा आउने भनेको त्याग, सामुदायिक सेवाको भावना, आपसी भाइचारा बढाउने उद्धेश्यले आउनु पर्दछ । समाजमा आएका नया सदस्यहरुलाई त्यो ठाउमा कस्ता कस्ता चुनौतीहरु छन् ? के कस्ता अबसरहरु उपलब्ध छन् ? कहाँ कहाँ के कस्ता सुविधाहरु उपलब्ध छन् ? आफुलाई कस्तो कस्तो आपद पर्दा कहाँ र कसरि जाने ? संस्थामा को संग सम्पर्क गर्ने ? सस्थाले के कस्तो मद्दत गर्दछ ? जस्ता कुराहरु स्पष्ट पार्नु पर्दछ । संस्थाको पदमा शासक जस्तो भएर नभई सेवक जस्तो भएर बस्नु पर्दछ । नत्र सामाजीक सेवाको नाममा “चिकेन लेग” पोल्ने भन्दा केहि काम नहुने हो भने न त संस्थाको कुनै महत्व रहन्छ न त्यो संस्थाका पदाधिकारीहरुको । त्यसैले अबको सामाजीक संस्थाहरु आफ्नो उद्धेश्य अनुरुप, समाजका सर्बसाधारणहरुको समस्या पहिचान गरेर सामुहिक हितका लागी अगाडी बढ्नु पर्दछ र “चिकेन लेग” भन्दा माथि उठ्न सक्नु पर्दछ ।