मेरो जन्म बि स २०४२ साल बैशाख १२ गतेका दिन अछामको जिल्लाको हालको चौरपाटी गापा ३ गगुडा गाउँको तासी टोलमा भएको हो।जुन डोटि र अछाम जिल्लाको सिमानामा अवस्थित छ। २०४८/४९ बाट मेरो बिद्यार्थी जिवनको सुरुवात भएको थियो ।बिधालय घर देखि धेरै टाढा थियो आउन जान निकै समय लाग्थ्यो।पहाडको बाटो कतै ओरालो त कतै उकालो कतै जंगल त कतै भिरै भिर भएको बाटो हिडेर स्कुल पुग्न करिब १ घण्टा भन्दा बढी नै समय लाग्थ्यो।
बिहान १० बजे स्कुल पुगि सक्नु पर्ने हुन्थ्यो भने घर बाट ८ बजे नै हिड्नु पर्ने हुन्थ्यो ।बिहानै त्यति छिटो खाएको खाना दिउँसो नै भोक लाग्न थालिहाल्थ्यो।दिउँसो १ बजेको ब्रेक समयमा खानको लागि घर बाट नै खाजा नास्ताको ब्यबस्था गरेर हिडिन्थ्यो।मेरो बिद्यार्थी जिवनको सुरुवात घर बाट नै सुरु भएको थियो।बुवाले मलाई कक्षा १ सम्म पढाई हुने सबै कुरोहरु घरमै अध्यन गराईसक्नु भएको थियो।तसर्थ म बिधालय भर्ना हुने बित्तिकै कक्षा २ मा बस्ने मौका पाए।त्यतिबेलाका आदरणीय शिक्षक गुरुहरु प्रेम बोगटी मीन ब धामी सुर्यनारायण शाह प्रेम खड्का लगायत नाम छुटेका सरहरुलाई सम्झिन चाहे।म बिद्यार्थी जिवनमा अनुशासन लाई पनि उत्तिकै महत्त्व दिन्थे।
पढाईमा पनि त्यतिकै तेजिलो थिए।जब कक्षा २ को परिक्षा बाट लगातार कक्षा ८ सम्म प्रथम भएको थिए भने कक्षा ६ बाट ७ मा जाने समयमा स्कुल प्रथम नै भएको थिए।शिक्षकहरु पनि मलाई उत्तिकै माया गर्नु हुन्थ्यो।त्यो बिधालयको कक्षा ८ को पढाई सकिएपछि हालको मेरो गाउँको वडा भन्दा अर्को वडामा रहेको बिधालयमा भर्ना भैईयो।नयाँ ठाँउ नयाँ साथीहरू नयाँ शिक्षकहरु सुरु सुरुमा अलि गाह्रो नै भएपनी बिस्तारै बिस्तारै सबै संग घुलमिल भैईयो।जब हामी कक्षा ९ मा पढिरहेका थियौ त्यतिखेर नेकपा माओवादीको जनयुद्ध निकै चर्किरहेको थियो।कक्षा ९ को अध्यन हामिले पूरा गर्न सकेनौ ।किनकि माओवादीहरु आएर स्कुल भिरै गएर आफ्नो पार्टीको बारेमा पढाउने गर्थे ।
हरेक दिन क्लास समयमा आएर जनयुद्ध सम्बन्धि सिकाउने आफ्नो पार्टीको सिद्धान्त बारे पढाउने गर्थे भने हामिले अध्यन गरिरहेको शिक्षा लाई बुर्जुवा शिक्षा भन्ने गर्थे।केही दिन त यसरी नै बित्यो त्यसपछि उहाँहरुले जबर्जस्ती गर्न सम्म पछि पर्नु भएन।रातिराती हाम्रो डेरामा आएर अब हामी संग हिड्नु पर्छ हाम्रो अभियान जनयुद्ध लाई सफल बनाउनु पर्छ भन्दै संगै लिएर जाने प्रयत्न समेत गरे।कहिले डर त्रास र धम्की समेत आउन थाल्यो। हामीलाई पढ्ने समयमा बन्दुक बोकेर युद्धको मैदानमा होमिने कुनै सोच ईच्छा थिएन तसर्थ हामीले निर्णय गर्यौ अब हामी केही समयको लागि भए पनि पढाई लाई स्थागित राख्दै भाग्नुपर्छ ।
ठुलो कक्षाको केही बिद्यार्थी बाहेक धेरै जसो साथीहरू भारततिर लाग्यौ।करिब ४/५ महिना जति भारत मै दिनहरु बितेपछी फेरि हामिहरु परिक्षा दिने निर्णय गर्दै जन्म भुमी तिर प्रस्तान भयौ।सबै साथीहरू गाउँ फर्किसकेपछी बिद्यार्थी र शिक्षक बसेर विभिन्न कुराहरुमा छलफल गर्दै सबैले परिक्षा दिनु पर्ने कुरोमा सहमति भईयो।४/५ महिना अध्यन गरेकै आधारमा हामीले परिक्षा पनि दियौ र नतिजा पनि राम्रै निस्कियो।प्रायः सबैजना उत्तीर्ण नै हुनु भयो।म पनि दोस्रो नम्बरमा उत्तीर्ण हुन सफल भए।कक्षा १० को पढाई सुरु भैसकेर टेस्ट परिक्षाको तयारी गरिरहेका समयमा फेरि तिनै माओवादी कार्यकर्ता आएर धम्की त्रास दिन थालेपछि फेरि मेरो अध्यनमा ठुलो बज्रपात आईलाग्यो।चाडतिहारको दिन थियो मेरो सबै परिवार संगै बसेर खाना खाईरहेका थियौ त्यही समयमा माओवादी सेनाको हतियार सहितको ७०/८० जनाको टोलि मेरै घरमा पुग्यो ।हामिहरु डरले थरथरी कापिरहेका थियौ मेरो घर परिवाले मलाई बेसन्चोको बाहना गर्दै एउटा कुनामा कपडा ओढाएर छोपेर राखेको याद आज पनि झल्झती झल्किने गरेको छ ।
त्यही प्रकारको ज्याजती सहन हुन नसकेपछि फेरि मेरो यात्रा भारत तिरै भयो ।पढेर ठुलो बन्ने सपना स्वदेश मै केही गरेर खाने सपनाहरु चकनाचुर भए ।तर मैले हिम्मत हारेन केही बर्ष भारतको बसाई पछि फेरि गएर अध्यन लाई निरन्तरता दिए तर देशमा उत्पन्न विभिन्न किसिमका समस्याहरुले गर्दा फेरि बिदेशको माटोमै रोजगारी गरेर चित्त बुझाउनु पर्ने भयो।सपना अनि चाहना आखिर ज्युका त्यु रहे ज्यान बिरानो शहरको बिरानो गल्लिमा पसिना संग पैसा साटिरहेको छु।