युएस नेपाल न्युज, कैलाली । अघिल्ला वर्ष यति बेला घरआँगन, मन्दिर र देवालयमा महिला–पुरुष देउडा खेल्दै गरेका हुन्थे । रोजगारीका लागि परदेसिएकाहरू घर फर्केपछि गाउँघरमा छुट्टै चलहपहल हुन्थ्यो । देउडा, चैत, धमारीलगायत सांस्कारिक गीत गुञ्जिन्थे । सुदूरपश्चिमेलीको मौलिक पर्व गौरामा विगतमा देखिने यो उमंग यस वर्ष भने देखिएन । कोरोना संक्रमणको त्रासले सहर बजार मात्र होइन, गाउँघर पनि प्रायः सुनसान छन् ।
धनगढीकी देवकी अवस्थी भन्छिन्, विगतमा जस्तो धेरैजना भेला भएर देउडा खेल्ने र रमाइलो गर्न नपाए पनि परिस्थितिअनुसार थोरैजना मिलेर गौरा भित्र्याउने, व्रत बस्ने, पूजाआजा गरेर परम्परादेखि मानिँदै आएको संस्कृतिलाई निरन्तरता दिइयो ।
मानिसहरू घरबाहिर निस्केर पर्व मनाउन डराएका छन् । कोरोनाका कारण सामूहिक रूपमा मनाउन नपाएपछि यस वर्ष सुदूरपश्चिममा गौराको उमंग नदेखिएको हो । मन्दिर, गौराघर, देवालयको गौरा घरघरमै सीमित भएको छ । संक्रमण बढ्न थालेपछि कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडीलगायत जिल्लामा निषेधाज्ञा छ । अन्य जिल्लामा पनि स्थानीय प्रशासनले भेला र जात्रामा प्रतिबन्ध लगाएका छन् ।
संक्रमणको जोखिमले सामूहिक रूपमा मनाउन नपाए पनि सुदूरपश्चिमेलीले घरघरमा गौरा भित्र्याएर परम्परागत संस्कृतिलाई निरन्तरता भने दिएका छन् । गौरा पर्व सुरु भएको तेस्रो दिन मंगलबार गौरा भित्र्याइएको छ । गौरा भित्र्याउने अधिकांश मन्दिर, गौराघरहरू सुनसान छन् । कतिपयले परिवारका सदस्य मिलेर गौरा भित्र्याएका छन् ।
यस वर्षको गौरा परिवारकै सदस्यबीच सीमित भएको धनगढी–६, की पार्वती भट्ट बताउँछिन् । थोरैजना भेला भएर गौरा भित्र्याउँदै परम्परागत संस्कृतिलाई निरन्तरता दिइएको उनले बताइन् । विगतमा जस्तो धेरैजना भेला भएर देउडा खेल्ने, रमाइलो गर्न नपाए पनि परिस्थितिअनुसार थोरैजना मिलेर गौरा भित्र्याउने, व्रत बस्ने, पूजाआजा गरेर परम्परादेखि मानिँदै आएको संस्कृतिलाई निरन्तरता दिइएको धनगढीकै देवकी अवस्थीको भनाइ छ ।
कोरोना संक्रमण तीव्र बनेपछि कैलालीमा स्थानीय प्रशासनले व्यक्तिगत रूपमा घरभित्रबाहेक मठमन्दिर, देवालयमा सामूहिक रूपमा जम्मा भएर पूजाआजा नगर्न र समूहमा पर्व नमनाउन आदेश जारी गरेको छ । निषेधाज्ञाकै बीच केही ठाउँमा भने टोलका मानिसहरू मिलेर गौरा भित्र्याएका छन् ।
यसरी मनाइन्छ गौरा
गौरा पर्वमा महिलाहरू सन्तान वृद्धि, पतिको दीर्घायु तथा परिवारको सुख, शान्तिको कामनाका लागि व्रत बस्ने गर्छन् । भाद्र पञ्चमीका दिन व्रत बसेका महिलाले सगुन गाउँदै विरुडा (पाँच प्रकारको अन्न) भिजाएसँगै गौरा पर्व सुरु हुन्छ । गहुँ, केराउ, गहत, मास र गुरौँस मिसाएर तामाका भाँडामा भिजाइन्छ । जसलाई बिरुडा भन्ने गरिन्छ । भाद्र सप्तमीका दिन विधिवत् रूपमा घर, मन्दिर र देवालयमा गौरा भित्र्याउने गरिन्छ । सामा, कुश, तितेपाती, तिल तथा अपामार्ग गरी पाँच प्रजातिका बुट्यान डालोमा राखेर भित्र्याइन्छ ।
यसक्रममा डालो नचाउँदै परम्परागत फाग तथा गौरा गाउने चलन रही आएको डोटेली संस्कृतिमा विद्यावारिधि गरेका डा.बद्री शर्मा बिनाडीले बताए । उनका अनुसार यी बुट्यानबाट देवी गौराको प्रतिमूर्ति बनाउने गरिन्छ ।
गौराअष्टमीको दिन महिलाहरू दुबोको पूजा गर्छन् । व्रतालु महिलाले दुबोजस्तै आफ्ना सन्तान फैलिउन् भन्ने कामनाले दुबोको पूजा गर्ने मान्यता छ । बिरुडालाई भगवान्को प्रसादका रूपमा बाँड्ने परम्परा छ । शर्माका अनुसार गौरा पर्व चार दिनसम्म मनाइन्छ । तर, रमाइलो र मनोरञ्जनका लागि हिजोआज सातादिनसम्म पनि गौरा मनाउने गरेको पाइन्छ।
गौरामा पुरुषले चैत, धमारी, ढुस्को, भोलाउलोजस्ता परम्परागत सांस्कृतिक गीतहरू गाउँदै रमाइलो गर्छन् । महिलाहरू घरगीत गाउँछन् । परम्परागत यी गीतहरूमा देवीदेवता तथा ऐतिहासिक वीर पुरुषका वीरताका गाथाहरू समेटिएका हुने डोटेली संस्कृतिका अध्येता पदमराज जोशी प्रभात बताउँछन् । पछिल्ला वर्षमा भने परम्परागत गीतभन्दा गौरामा देउडा खेलेर रमाइलो गर्ने चलन बढेको छ । देउडा गीतका माध्यमबाट एकअर्काका दुःख–सुख साट्ने पनि गरिन्छ ।- -नयापत्रीका