काठमाण्डौ । काठमाण्डौ उपत्यकाको सबैभन्दा ठूलो जात्रा मानिने इन्द्रजात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष भदौशुक्ल द्धादशीका दिनदेखि एकहप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा सुरु हुने गर्दछ ।
यसवर्ष कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण यो पर्व घर-घरमा मात्र सीमित हुने भएको छ । हनुमानढोका दरबारअगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । तर यसवर्ष यो परम्परा भंग भएको छ ।
आइतबार बिहान ८ बजेर ७ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याउने साइत थियो । त्यसो गर्न नसकिए पनि बिहान साधारण पूजा मात्र गरिएको केन्द्रीय मानन्धर संघका गजेन्द्र मानन्धरले बताउनु भयोे । इन्द्रध्वजाको व्यवस्थापन मानन्धर संघले गर्ने गर्दछ।
त्यस्तै आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसी, देवी नाच, महाकाली नाच, आकाश भैरवलगायतका परम्परागत सांस्कृतिक मूर्ति र नाचले प्राचीन सांस्कृतिक नगर झकिझकाउ गरिने गरिन्थ्यो ।
यी सबै देवदेवीको मुखौटाहरुलाई परम्पराअनुसार भण्डारण गरिएको ठाउँबाट निकालेर मर्मतसम्भार गरिएका छन् भने पूजासहित आसनमा राखिएका छन् । तर सर्वसाधारणको दर्शनको लागि देवदेवीको घर भनेर खुला गरिएका छैनन् । त्यस्तै देवीदेवीहरुका नाच पनि प्रदर्शन गरिने छैनन् ।
त्यस्तै आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने परम्परा छ । तर काेरोना भाइरसका कारण उपाकु जानु पर्ने कुनै-कुनै परिवारले बिहान सबैरै परिक्रमा गर्नु पर्ने परम्परालाई निरन्तरता दिनको लागि रुटको कुनै निश्चित ठाउँमा मात्र गएर पनि सम्पन्न गरेका छन् ।
तर बेलुका हुने सबै धार्मिक गतिविधि भने यसवर्ष नहुने भएका छन् ।