काँकडभिट्टा (झापा) १८ जेठ । यहाँका दूध उत्पादन तथा व्यवसायसँग आवद्ध अगुवाहरूको पहलमा नेपालमै पहिलो पल्ट अन्तर्राष्ट्रिय दूध दिवस मनाइने भएको छ ।
जेठ १९ गते विर्तामोडमा सो दिवस मनाउने तयारी पूरा भएको हो । सन् २००१ देखि संसारभर जुन १ तारिखका दिन दूध दिवस मनाउने गरिएको छ । अग्रसेन भवनमा विशेष समारोहबीच पशुपक्षी विकासमन्त्री शान्ता मानवीको प्रमुख आतिथ्यमा दूध दिवस मनाइने आयोजक समितिका संयोजक रामचन्द्र उप्रेतीले बताउनुभयो ।
जिल्लाका दूध व्यवसायी, सरकारी निकाय र दूध उत्पादनसँग आवद्ध किसानको भेलाले नेपाल बहुउद्ददेश्यीय सहकारी संस्थाका अध्यक्ष उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय दिवस आयोजक समिति गठन गरेको छ । “सरकारी उच्च निकायसँग समन्वय गरेरै दिवस मनाउन लागेका हौँ” उहाँले भन्नुभयो । ‘नियमित दूध सेवन, स्वास्थ्य र समृद्धजीवन’ नाराका साथ दूध दिवस मनाउन लागिएको छ ।