मस्को, ९ कार्तिक । अमेरिकी विदेशमन्त्री जोन केरी र रुसी समकक्षी सर्गेइ लाभरोभबीच सिरियाको उत्तरी नगर अलेप्पोको वर्तमान अवस्थाबारे गम्भीर टेलिफोन वार्ता भएको रुसी परराष्ट्रमन्त्रालयले जनाएको छ ।
वार्ताको क्रममा रुसी विदेशमन्त्री लाभरोभले अवैधानिक हतियारधारी सशस्त्र बिद्रोहीहरुले युद्धग्रस्त अलेप्पोको पूर्वी क्षेत्रबाट उम्किन प्रयास गर्ने सर्वसाधारण नागरिकहरुउपर जथाभावी हिंसात्मक आक्रमण गरिरहेको बताउनु भएको छ ।
“सिरियाली सरकारले अघि सारेको अल्प युद्ध विरामलाई उनीहरुले मान्नु पर्ने हो, तर न्यूनतम मानवीयता नराखी निहत्था नागरिकउपर प्रहार भै रहेको छ । आफूसमर्थित सिरियाका मध्यमार्गी विपक्षीहरुलाई आतङ्कवादी समूहहरुबाट अलग पारिदिन पहिला नै अमेरिकाले प्रकट गरेको वचनवद्धता पूरा गर्न पनि रुसी विदेशमन्त्रीले केरीलाई फेरी एकपटक आग्रह गर्नु भयो ।
अलेप्पोको स्थिति सामान्य र स्थिर राख्न आआफ्नो पक्षबाट प्रयास गर्न यी दुबै उच्चस्तरीय नेता सहमत भएको जनाइएको छ । यस अतिरिक्त, दुइ राष्ट्रबीच कायम रहेको दौत्य सम्बन्ध, इराकको वर्तमान अवस्थालगायत अन्य अन्तर्राष्ट्रिय मामिलाबारे पनि यी दुई नेताबीच छलफल भएको छ ।