११ मङ्सिर । क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति निधन भएको छ । उहाँ ९० बर्षको हुनुहुन्थ्यो ।
उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्नुहुदै भन्नुभयो, “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भएको छ ।
फिडेल कास्ट्रो अमेरिकाको कट्टर आलोचक हुनुहुन्थ्यो । – एएफपी
फिडेल कास्ट्रोको जीवनी
फिडेल कास्ट्रो संसारमै सबैभन्दा लामो समयसम्म सत्तामा रहेका नेता हुन् । संयुक्त राज्य अमेरिकाले उनलाई पटक-पटक पदबाट हटाउन चाहेपनि उनले दशवटा अमेरिकी राष्ट्रपतिहरु कार्यकाल पूरा गरी हटेको आफ्नै आँखाले देखे ।
क्रान्तिकारी
कास्ट्रोको सन् १९२६ मा एउटा सम्पन्न, जमिनदार परिवारमा जन्म भएको थियो । आफ्नो सुविधासम्पन्न जीवनशैली र बहुसंख्यक जनताको विपन्नता देखेर उनी क्रान्तिकारी बनेको बताइन्छ ।
उनले देशको भ्रष्टाचार, असमानता र पछौटेपनाकालागि तत्कालीन बाटिस्ट शासनलाई जिम्मेवार ठहराउँदै उक्त सत्तालाई हटाइ छाडने अठोट गरे । सियरा मिस्ट्रा पहाडमा आधारक्षेत्र बनाएका कास्ट्रो र उनका सहयोगीहरुले छापामार आन्दोलन शुरु गरे ।
उनले नेतृत्व गरेको विद्रोही सेना २ जनवरी १९५९ का दिन राजधानी हवानामा प्रवेश ग-यो । बाटिस्ट भागेपछि कास्ट्रोले नयाँ सरकारको गठन गरे जसमा अर्जेन्टिनामा जन्मिएका अर्का क्रान्तिकारी एर्नेस्ट चे ग्वेभेरा पनि सहभागी थिए । कास्ट्रोले भगाएका बाटिस्टलाई अमेरिकाको समर्थन थियो
उनले जनतालाई उनीहरुको जमीन फिर्ता दिनुकासाथै गरिबको हक रक्षा गर्ने वाचा पनि गरे । समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका कास्ट्रोलाई अमेरिकाले शुरुदेखि नै रुचाएन ।
रणभूमि
अमेरिकी राष्ट्रपति आइजनहावरले कास्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप लगाए । त्यसपछि क्युबा शीतयुद्धको रणभूमि बन्न पुग्यो ।
अप्रिल १९६१ मा अमेरिकाले निर्वासनमा रहेका क्युबालीहरुको निजी सेना बनाएर कास्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोज्यो । बे अफ पिग्समा भएको लडाइँमा क्युबाली सेनाले थुप्रै विद्रोहीहरुलाई मारिदिए भने एक हजार जना जतिलाई बन्दी बनाए ।
त्यसको एक वर्ष जतिपछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्रहरु क्युबातर्फ गइरहेको देखे । त्यसपछि आणविक शक्ति सम्पन्न दुई मुलुक, अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे ।
तर पछि सोभियत संघका तत्कालीन राष्ट्रपति निकिता ख्रुश्चेभले क्युबाबाट रुसी क्षेप्यास्त्रहरु फिर्ता गरेपछि अमेरिकाले पनि टर्कीबाट गोप्यरुपमा आफ्ना क्षेप्यास्त्रहरु हटायो । त्यसरी एउटा सम्भाव्य आणविक अस्त्रको खतरा ट-यो ।
अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटक पटक कास्ट्रोको हत्या गर्ने प्रयास ग-यो, तर ती सफल भएनन् । रुससंग निकट सम्पर्क रहेका कास्ट्रोले असंलग्न मुलुकहरुको आन्दोलनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरे ।
उनले एङ्गोला र मोजाम्बिकका मार्क्सवादी छापामारहरुलाई सघाउन क्युबाली सैनिकहरु पनि पठाए । कास्ट्रोको शासनकालमा क्युबामा सबै जनताकालागि गुणस्तरीय चिकित्सा सेवा निशुल्करुपमा उपलब्ध थियो । त्यहाँ बाल मृत्युदर पनि उल्लेख्य रुपमा घट्यो ।
सुधार
उनले आफ्नो क्रान्तिलाई जोगाउन विस्तारै बजार अर्थतन्त्रमा आधारित सुधारहरु शुरु गरे । ८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा फिडेल कास्ट्रोले आफ्ना भाइ राउल क्यास्ट्रोलाई अस्थायीरुपमा सत्ता हस्तान्तरण गरे ।
उनी प्राणघातक क्यान्सर रोगबाट पीडित भएको कुरा क्युबाले औपचारिकरुपमा कहिल्यै स्वीकारेन । तर, फेब्रुअरी २००७ मा राउलले फिडेलको स्वास्थ्यमा सुधार भइरहेको बताए ।
सन् २००८ मा कास्ट्रोले राष्ट्रपति र सेनाको कमाण्डर इन चिफको जिम्मेवारी नलिने घोषणा गरे । कैयौं क्युबालीहरु कास्ट्रोलाई पटक्कै रुचाउँदैनन् तर अरु कैयौं उनलाई साँच्चिकै माया गर्दछन् ।
उनीहरुका लागि अमेरिका जस्तो शक्तिशाली मुलुकसंग जोरी खोज्नसक्ने कास्ट्रो नै क्युबा थिए र क्युबा नै कास्ट्रो थियो । – बीबीसी