२८,मंसिर । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘एक चीन नीति’ नमान्ने बताएपछि चीनले कडा आपत्ति जनाएको छ ।
सोमबार फक्स न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले चीनबाट फाइदा नलिई उक्त नीतिलाई निरन्तरता दिनुको औचित्य आफूले नदेखेको बताएका थिए ।
त्यसको लगत्तै सोमबार साँझ चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ताइवानको सम्वेदनशीलतालाई बुझ्न ट्रम्पलाई आग्रह गरेको छ ।
ट्रम्पले ताइवान चीनको एक भाग हो भनेर मान्दै आएको अमेरिकाले भविष्यमा त्यो मान्न नसक्ने आशय व्यक्त गरेपछि बेइजिंगले गम्भीर चिन्ता व्यक्त गरेको हो ।
चीनले ताइवानलाई चीनकै क्षेत्र मान्दछ । र, १९७९ मा वाशिंटनसँगको कुटनीतिक सम्बन्ध जोड्नुअघि अमेरिकाले त्यो नीतिलाई सार्वजनिक रुपमा स्वीकार गर्नुपर्ने शर्त चीनले राखेको थियो ।
चिनियाँ विदेश मन्त्रालयका एकजना प्रवक्ता गेङ सुवाङ भन्छन्- हामी अमेरिकाको नयाँ सरकार र नेतालाई ताइवानको मुद्दालाई चीन र अमेरिकाको सम्बन्धमा क्षति नपुग्नेगरी सावधानीपूर्वक हेर्ने आह्वान गर्दछौं ।
सन १९७९ यता एक चीन नीति चीन र अमेरिकाको सम्बन्धको आधार रहेको छ ।