काठमाडौं। भारतले सार्कलाई निष्क्रिय पार्दै बिघटनतिर लैजाने पहल थालेपछि त्यस बिरुद्ध पाकिस्तानले पनि प्रभाबशाली कुटनीतिक लबिङ थालेको छ । त्यसको सुरुवात १० फेब्रुअरीमा श्रीलंकामा रहेको पाकिस्तानी हाइ कमिसनले गर्यो । कोलोम्बोस्थित हाइ कमिसनले ‘सार्क, यसका समस्या र अगाडिको बाटो’ बिषयमा छलफल आयोजना गर्यो, जसमा सार्कलाई क्षेत्रीय मञ्चका रुपमा चुस्त दुरुस्त राख्दै प्रभाबकारी मंचका रुपमा रुपान्तरण गर्ने समझदारी समेत भयो ।
श्रीलंकाकै थिंकट्यांक ‘इन्टिच्युट अफ नेशनल सेक्युरिटिज’ (आइएनएसएसएल) समेत आयोजक रहेको यस कार्यक्रमले श्रीलंकन सरकार र त्यहाँको मत सार्कको प्रभाबकारी कार्यान्वयनका पक्षमा रहेको देखिन्छ । पाकिस्तानी अखवार ‘द नेशन’का अनुसार, उक्त कार्यक्रममा भारत र पाकिस्तानको द्वन्द्वको मुद्दाका रुपमा रहेको काश्मिरबारे बढी छलफल भएको थियो । सार्कलाई दुई देशबीच भएको यो नै पहिलो छलफल हो ।
भारतले पाकिस्तानको राजधानी इस्लामाबादमा तय भएको सार्कको १९ औं शिखर सम्मेलनमा सहभागिता जनाउन नसक्ने बताउँदै अन्य सदस्य राष्ट्रलाई समेत दबाब दिएपछि सम्मेलन स्थगित भएको थियो । काश्मिरको उरीमा पाकिस्तानी भूभागबाट भएको आक्रमणमा आफ्ना सुरक्षाकर्मी मारिएको भन्दै भारतले पाकिस्तान सरकारद्वारा आंतकबादी आक्रमण भएको अवस्थामा सम्मेलन हुन नसक्ने निर्णय गरेको थियो ।
त्यसअघि कोलम्बोमै ‘दक्षिण एसियामा चीनः चीनमा दक्षिण एसिया’ शीर्षकमा कार्यक्रम आयोजना भयो, जसमा अधिकांश दक्षिण एसिया बिज्ञले सार्कलाई प्रभाबकारी मंचका रुपमा बनाउनुपर्ने धारणा राख्दै भारतीय योजनाको आलोचना गरेका थिए । त्यतिमात्र होइन, चीनलाई सार्कको सदस्य राष्ट्र बनाउनुपर्ने धारणा राख्दै त्यसो भएमा क्षेत्रीय मञ्च थप सशक्त र प्रभाबकारी हुने बताएका थिए । चीन अहिले सार्कको अब्जर्बर राष्ट्र हो । चीनलाई सार्क सदस्य बनाउने प्रस्तावको भारतले बिरोध गर्दै आएको छ ।
भारतले सार्कको सट्टामा बिमस्टेक र बीबीआईएनलाई अघि बढाउन थालेपछि पाकिस्तानले पनि सार्कलाई सक्रिय मञ्च बनाउनुपर्ने भन्दै कुटनीतिक लबिङ बढाएको हो । जस अन्तर्गत पाकिस्तानकै सहयोगमा बिभिन्न देशमा सार्कबारे कार्यक्रम भइरहेका छन् भने थप कार्यक्रम गर्ने योजनासमेत बनाइएको छ । पाकिस्तानी सरकारी अधिकारीले चीनसँग मात्र नभएर अमेरिकासँग समेत सार्कको औचित्य र आवश्यकताबारे प्रकाश पार्दै भारतलाई क्षेत्रीय मञ्चलाई समाप्त पार्ने गतिबिधि नगर्न दबाब दिन आग्रह गरेका छन् । अमेरिका पनि सार्कको अब्जर्भर राष्ट्र हो ।
सार्क र चीन गरेर विश्वको ४० प्रतिशत जनसंख्या ओगट्छन् भने विश्व क्षेत्रफलको १२ प्रतिशत ढाक्छन् ।