काठमाडौं । इस्लामाबादमा तय भएको सार्क शिखर सम्मेलन भारतले हुन नदिएपछि आक्रोशित भएको पाकिस्तानले भारतको इन्दौरमा सुरु भएको दक्षिण एसियाली सभामुख शिखर सम्मेलन बहिष्कार गरेको छ । यसले दुई देश बीचको द्वन्द्व थप बढ्ने देखिएको छ ।
भारतको इन्दोरमा आइतबार सुरु भएको सार्क सभामुख शिखर सम्मेलनमा पाकिस्तानका तर्फबाट कसैको प्रतिनिधत्व नभएको हो । सहभागि अन्य देशका प्रतिनिधिले त्यसप्रति आक्रोश व्यक्त गरेका छन् । पाकिस्तानको राजधानी इस्लामाबादमा तय भएको सार्कको १९ औं शिखर सम्मेलनमा सहभागिता नजनाउने भारतीय निर्णयबिरुद्ध पाकिस्तानले पनि सभामुख सम्मेलनमा सहभागिता नजनाएर कुटनीतिक बदला लिएको छ । भारतले काश्मिरको उरीमा पाकिस्तानी सेनाबाट आक्रमण गरी आफ्ना सुरक्षाकर्मीको हत्या गरेको भन्दै त्यस्तो अवस्थामा इस्लामाबादमा शिखर सम्मेलनमा सहभागि हुन नसक्ने निर्णय गर्दै अन्य देशलाई पनि सहभागि नहुन लबिङ गरेको थियो । अन्ततः भारतको दवाबमा परेर नेपाल लगायतले सार्क सम्मेलन हुन नसक्ने जनाएका थिए ।
त्यसयता भारतले सार्कको सट्टा बिमस्टेक र बीबीआईएन जस्ता मञ्चहरुलाई अघि बढाई पाकिस्तानलाई एक्ल्याउने प्रयास गर्दै आएको छ । अहिले पाकिस्तानले भारतीय नीतिको बिरोधमा संसदीय सम्मेलनमा सहभागिता नजाएको हो । यसले भारत पाकिस्तान द्वन्द्व बढ्दै गएको देखाएको छ । यस्तै द्वन्द्व बढ्दै जाँदा सार्क शिखर सम्मेलन थप अनिश्चित बनेको छ ।
अन्तर संसदीय युनियनका अध्यक्ष तथा पाकिस्तानका सांसद सबीर हुसैन चौधरीले दुई देशबीचको द्वन्द्वले सांसदहरुबीचको संवाद नरोकिने बताए । भारतीय अखवार टाइम्स अफ इण्डियाका अनुसार, दुई दिने शिखर सम्मेलनमा नेपालका सभामुख ओनसरी घर्तीसहित भारत, अफगानिस्तान, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंकाका सभामुखसहितको संसदीय टोलीको सहभागिता छ ।
भारतीय सभामुख सुमित्रा महाजनले पाकिस्तानले सहभागिता नजनाउनु दुखद भएको बताइन् । सम्मेलनभन्दा तीन दिन अघि दिएको एक अन्तवार्तामा सभामुख महाजनले पाकिस्तानले सहभागिता जनाएमा राम्रो हुने बताउँदै सहभागिता जनाउनु÷नजाउनु पाकिस्तानकै निर्णय हुने बयान दिएकी थिइन् । सम्मेलनले सार्कका साझा मुद्दामा बिभिन्न प्यानलमा छलफल गरी सुझाव दिनेछ ।