काठमाडौं । सोमालियामा भोकमरीका कारण एक सय १० जनाको ज्यान गएको छ । प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भएको भोकमरीले एउटै क्षेत्रमा मात्रै एक सय १० जनाको ज्यान गएको पुष्टि गरेका हुन् ।
दक्षिण पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने थाहा नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
सोमालियामा खडेरीका कारण भोकमरीको संकट बढ्दै गएको छ । अहिले सोमालियाका झण्डै ३० लाख मानिसले खाद्य संकट भोगिरहेका छन् । सोमालियामा सन् २०१० देखि २०१२ सम्म भोकमरीका कारण दुई लाख ६० हजार भन्दा धेरैको ज्यान गएको थियो ।
त्यसअघि सन् १९९२ मा फैलिएको भोकमरीका कारण दुई लाख २० हजार मानिसको ज्यान गएको थियो । सोमालियासहित नाइजेरिया, दक्षिणी सुडान र यमन अहिले भोकमरीको गम्भीर चपेटामा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले भोकमरीको चपेटामा रहेका मानिसको सहयोगका लागि विश्वसमुदायसँग आग्रह गरेको छ ।