अमेरिकी सेनाले अफ्गानिस्तानमा हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ । बम इस्लामिक स्टेट समूह विरुद्ध रहेको पेन्टागनले जनाएको छ ।
बम अहिलेसम्म कुनै पनि द्वन्द्वमा प्रयोग गरेमध्येको सबैभन्दा शक्तिशाली रहेको दाबी गरिएको छ । उक्त बमको शक्ति ११ टन टिनटी बराबर भएको बताइएको छ ।
‘मदर अफ अल बम्स’ भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नाङ्गहार प्रान्तमा खसालिएको थियो । एक जना स्थानीय गभर्नरले बिस्फोटन भएको ठाउँमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताएका छन् ।
बीबीसीका अनुसार अमेरिकी विमानमार्फत अफगानिस्तानको नाङ्गहार प्रान्तस्थित आचिन जिल्लामा झण्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो । पाकिस्तानी सीमा नजिकै अवस्थित गुफै गुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको बीबीसीले बताएको छ ।
ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर भनेका छन्, ‘हामीले सुरुङ र गुफाहरुलाई निशाना बनायौँ जून इस्लामवादी जिहादीहरुले निर्वाध हिडँडुल गर्न प्रयोग गर्थे र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गरिरहन्थे । अमेरिकाले इस्लामिक स्टेट विरुद्धको लडाईंलाई गम्भिरतापूर्वक लिएको छ र उनीहरुलाई पराजीत गर्न उनीहरुको क्षमता कमजोर बनाउनैपर्छ ।’
स्थानीय समय साँझको साढे सात बजे तिर प्रहार गरिएको उक्त बम बिस्फोटनको अवाज दुई वटा छिमेकी जिल्लाहरुमा सुनिएको जनाइएको छ ।