जलवायु परिवर्तनबारे चीन र ईयुको पहल , ट्रम्प मौन

जलवायु परिवर्तनबारे चीन र ईयुको पहल , ट्रम्प मौन
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी प्यारीस सम्झौता कार्यान्वयनबारे आनाकानी गरिरहँदा चीन र इयुले सम्झौताको समर्थनमा एक संयुक्त वक्तव्य प्रकाशित गर्ने तयारी गरेका छन्।

चिनियाँ तथा युरोपेली नेताहरुले प्यारीस सम्झौताको अपरिहार्यताबारे एक संयुक्त वक्तव्यको तयारी गरेका छन्।

बिबिसिका अनुसार उक्त संयुक्त वक्तव्यको मस्यौदामा प्यारीस सम्झौता कार्यान्वयनका निम्ति उच्चतम राजनीतिक प्रतिबद्धतामा जोड दिइएको छ।

चीन र इयुको सो तयारीलाई प्यारीस सम्झौताबाट अमेरिकाले हात झिक्ने भन्ने विषयमा छलफलरत राष्ट्रपति ट्रम्पविरुद्धको कदमको रुपमा हेरिएको छ।

ट्रम्पले उक्त सम्झौताबाट अमेरिकालाई अलग्याउने वा नअलग्याउने भन्ने विषयमा निर्णय सुनाउने तयारी गरेको बताइएको छ।

शुक्रबार सार्वजनिक गरिने ठानिएको जलवायु परिवर्तन र स्वच्छ उर्जाबारे सो संयुक्त वक्तव्यका निम्ति चिनियाँ तथा इयु अधिकारीहरु एक वर्षभन्दा धेरै समयदेखि कार्यरत रहेका थिए।

सो वक्तव्यले बढ्दो तापक्रमले उत्पन्न गराउने खतरालाई राष्ट्रिय सुरक्षाको मामिला मानेको छ। त्यसले स्वच्छ उर्जातर्फको संक्रमणले रोजगार सृजना गर्ने र आर्थिक वृद्धि हुने उल्लेख गरेको छ।

Post Comment