अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट हुँदा पाँच नेपाली घाइते भएका छन् । बुधबार बिहान राष्ट्रपति भवननजिकै कूटनीतिक नियोगहरूका कार्यालय भएको अति संवेदनशील क्षेत्रमा विस्फोट भएको थियो । बमहरूले भरिएको कार त्यहाँको जर्मन दूतावासअगाडि विस्फोट गराइएको अफगानिस्तानका अधिकारीहरूले जनाएका छन् ।
विस्फोटमा परी पाँच नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता भरतराज पौडेलका अनुसार घटनामा परी घाइतेमध्ये चार जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् ।
‘हामीलाई पाँच नेपाली घाइते भएको भन्ने खबर पाकिस्तानस्थित दूतावासले गराएको छ,’ पौडेलले भने, ‘चार जना उपचारपछि कार्यक्षेत्रमा फर्किसकेका छन् । एक जनाको उपचार जारी छ । उनको अवस्था पनि चिन्ताजनक नभएको जानकारी आएको छ ।’
अफगानिस्तानमा नेपाली दूतावास नभएका कारण विस्तृत विवरण आउन सकेको छैन । घाइतेहरू त्यहाँ सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । घाइतेहरूको नाम प्राप्त भएको छैन । उनीहरू दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।
घटनाको विस्तृत विवरण पठाउन इस्लामाबादस्थित नेपाली दूतावासलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ । यसैबीच, नेपालले विस्फोटको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै आतंकवादी कार बम आक्रमणको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपालले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अफगानिस्तान सरकार र त्यहाँका जनताप्रति समवेदना व्यक्त गरेको छ ।
कार बम विस्फोटमा ८० जनाको मृत्यु भएको छ भने ३ सय ५० जना घाइते भएका छन् । विस्फोट भएसँगै त्यहाँ सशस्त्र युद्ध गरिरहेको तालिबान समूहले विस्फोट आफूहरूले नगराएको जनाएको छ भने मुस्लिम कट्टरपन्थी समूह आईएसले समेत अहिलेसम्म जिम्मेवारी लिएको छैन ।