कश्मिरमा सुरक्षाफौज र हतियारधारी समूहको भिडन्त ,कैयौं घाइते

कश्मिरमा सुरक्षाफौज र हतियारधारी समूहको भिडन्त ,कैयौं घाइते
अन्तर्राष्ट्रिय समाचार

भारत प्रशासित कश्मिरमा बिहीबार बिहानै सुरक्षाफौजसँग हतियारधारी समूहको भीषण भिडन्त भएको छ ।

सो भिडन्तमा परी कम्तीमा पनि तीनजना हतियारधारीको ज्यान गएको छ । अरु कैयौं घाइते भएका र दर्जनौं सशस्त्र व्यक्ति भागेको जनाइएको छ ।

भारत प्रशासित कश्मिरमा पछिल्लो केही दिनयता तनाव बढेको बताइएको छ । यसक्रममा केही दिनयतादेखि हतियारधारी समूहका व्यक्ति र भारतीय सुरक्षाकर्मीबीच दोहोरो गोली हानाहानका घटना बढेका छन् ।

भारत प्रशासित कश्मिरको पुल्वामा जिल्लाको काकापोला गाउँमा बिहीबार बिहानीपख गस्तीमा खटिएका सरकारी सुरक्षाकर्मीहरुसँग व्यापक भिडन्त भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार सो भिडन्तका कारण घाइते भएका केहीलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल भर्ना गरेको छ ।

‘बिहीबार बिहानीपख भएको सो भिडन्तमा परी तीनजना हतियारधारी मारिएका छन् र अरु कैयौं भागेका छन्’–भारती प्रहरीले जनाएको छ ।

मारिनेमा हतियारधारीहरु लस्कर ए तोएबा नामक सशस्त्र संगठनमा आबद्ध रहेका बताइएको छ ।

यसअघि पनि गत हप्तामात्र सोही क्षेत्रमा भएको यस्तै भिडन्तमा परी उक्त संगठनका एकजना कमान्डरको ज्यान गएको भारतीय प्रहरीले जनाएको थियो ।

श्रीनगरबाट करिब ५० किलोमिटर दक्षिणमा पर्ने सो गाउँमा भारतीय सेना र प्रहरीको संयुक्त टोली गस्तीमा रहेको समयमा सशस्त्र समूहले प्रहरीमाथि नै गोली चलाएको थियो । त्यसमा परी ती हतियारधारी मारिएका हुन् ।

कश्मिरमा गत आइतबारमात्र पनि बन्दुकधारी र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो । त्यस क्षेत्रमा केही दिनयतादेखि हिंसा भड्किएको छ ।

Post Comment