दक्षिण कोरियाको व्यापार तथा वाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी ६ महिनासम्ममा देखिने बताएका छन् ।
दक्षिण कोरियाका ती अनुसन्धानदाता पार्क जोङचुलले भने–‘यसको प्रभाव अहिले नै देखापर्न थालिसकेको छ र आगामी ६ महिनामा यसको प्रभाव अझै धेरै देखिनेछ ।’
दक्षिण कोरियाको राजधानी सोलमा मंगलबार आयोजना गरिएको वाणिज्यसम्बन्धी एक कार्यक्रममा उनले उत्तर कोरियाले आफूलाई कुनै असर नपरेको भनेको भएपनि त्यसको असर देखिन थालेको जिकिर गरेका हुन् ।
पहिलेका नाकान्दीहरुमा विभिन्न देशले आणविक हतियारहरुको उत्पादन, विस्तार र वितरणमामात्र केन्द्रित रही तिनमाथि प्रतिबन्ध लगाउने खालकामात्र थिए भने यसपटकको नाकाबन्दीले उत्तर कोरियाको व्यापार र वस्तुहरुको आयात–निर्यातमा नै प्रतिबन्ध लगाएकाले यसको असर ठूलो पर्ने उनले बताए ।
संयुक्त राष्ट्रसंघले उक्त देशमाथि केही हप्ताअघि नाकाबन्दी लगाएको हो । उसले सेप्टेम्बर ३ मा आणविक परीक्षण तथा यसमा हाइड्रोजन बमकै परीक्षण गरेकाले हतियार उत्पादनकोविरुद्धमा रहेको कानुनी प्रावधानको प्रयोग गरी उत्तर कोरियामाथि यस्तो नाकाबन्दी लगाइएको हो ।
तरपनि यस्तो नाकाबन्दीले आफूलाई कुनैपनि असर नपर्ने धम्की उत्तर कोरियाले दिएको थियो ।
उत्तर कोरियाले भनेको छ–‘यसले हामीलाई कुनै असर पार्दैन, हामी हाम्रो काम झन् राम्रोगरी गर्न सक्छौं ।’
उत्तर कोरियाले गत वर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको बताइएको छ ।
उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बमभन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ ।
उता, उत्तर कोरियाले पुनः अर्काे आणविक परीक्षण गर्ने धम्की पनि दिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका बेला उत्तर कोरियाली विदेशमन्त्रीले सो धम्की दिएका हुन् ।
अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकाले यसको खतराकोबारेमा पनि विमर्श भइरहेको छ ।
उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्रीले दिएको न्यूयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ ।