‘सि जिनपिङको नाममा राजनीतिक सिद्धान्त’

‘सि जिनपिङको नाममा राजनीतिक सिद्धान्त’
अन्तर्राष्ट्रिय समाचार

चिनियाँ नेता सि जिनपिङले देशको सत्तारुढ कम्युनिष्ट पार्टीमा आफ्नो हैसियत थप मजबुत बनाउँदै आफ्नो अलग्गै राजनीतिक सिद्धान्त प्रस्तुत गरेका छन्।

बेइजिङमा जारी पार्टीको महाधिवेशनमा गरिएको घोषणा अनुसार उनको अवधारणालाई सी जिनपिङ विचारधारा भनिनेछ।

अहिलेसम्म सि जिनपिङ विचारधाराको स्पष्ट अर्थ के हुनेछ भनेर बाहिरी विश्वलाई प्रष्ट थाहा भइसकेको छैन्।

तर चिनियाँ सरकारी समाचार संस्थाको अंग्रेजी संस्करणमा प्रस्तुत समाचार अनुसार कम्युनिष्ट पार्टीको विधानमा उक्त विचारधारालाई समावेश गरिने बलियो संकेत दिएको छ।

 सि जिनपिङ विचारधाराको शाब्दिक अर्थ बुझ्न कठिन छ तर धेरै हदसम्म यो नयाँ सिद्धान्तको आधारभूत विषयहरुले खासै महत्व राख्दैनन्।

यो घोषणाको मुख्य महत्व भनेको त्यसको सांकेतिक अर्थ नै हो।

 

चिनियाँ नेता देङ सिआओपिङ पछि आफ्नो नाम राजनीतिक सिद्धान्तसँग जोड्ने देशका पहिलो नेता सि जिनपिङ बनेका छन्।

र यसले आफ्ना दुई पूर्ववर्ती राष्ट्रपतिहरुभन्दा उनको शक्ति मजबुत रहेको देखाउँछ।

देङअघि चीनका नेता माओत्से तुङले पनि आफ्नो नामको राजनीतिक विचारधारा प्रस्तुत गरेका थिए।

अंग्रेजी भाषामा सरकारी समाचार संस्था सिन्ह्वामा प्रकाशित खबरको शिर्षकमा चिनियाँ कम्युनिष्ट पार्टीले ‘समाजवादबारेको सि जिनपिङ विचारधारा ल्याएको र त्यसले नयाँ युगका लागि चिनियाँ विशेषता दर्शाउने’ बताएको छ।

Post Comment