अमेरिकी राष्ट्रपतिको छोरी आउने भएपछि हैदरावादलाई ‘भिखारीमुक्त’ सहर बनाइँदै

अमेरिकी राष्ट्रपतिको छोरी आउने भएपछि हैदरावादलाई ‘भिखारीमुक्त’ सहर बनाइँदै
अन्तर्राष्ट्रिय समाचार

भिखारीहरुको ठूलो संख्या रहेको भारतमा हैदरवाद सहरलाई भने ‘भिखारीमुक्त’ बनाउन थालिएको छ । यसका लागि स्थानीय प्रशासनले नागरिकको समेत सहयोग लिन थालेको छ ।

१ डिसेम्बरदेखि सडक तथा चोकमा कुनै भिखारी देखिए त्यस्ताको जानकारी दिनेलाई प्रशासनले ५०० रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

स्थानीय आनन्द आश्रमका अध्यक्ष एम सम्पतका अनुसार १ डिसेम्बरदेखि हैदरावादलाई ‘भिखारीमुक्त’ बनाइने छ । सो आश्रममा भिखारीलाई पुनर्वासका लागि राख्ने गरिन्छ ।

भिखारीविरुद्धको यो अभियान ८ नोभेम्बरबाट सुरु गएको हो । तत्काल दुई महिनाका लागि भिखारीलाई रोक लगाइएको हो । प्रहरी कमिश्नर एम महेन्द्र रेड्डीले जारी गरेको यो आदेश आगामी जनवरी ७ सम्म लागू हुनेछ ।

आलोचकहरुका अनुसार यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्काको भ्रमणलाई मध्यनजर गर्दै उठाइएको हो । इवान्का २८ देखि २९ नोभेम्बरसम्म हुन लागेको अन्तर्राष्ट्रिय उद्यमी सम्मेलनमा सहभागी हुन हैदरावाद आउने भएकी छन् ।

प्रशासनले भने इवान्काको भ्रमणसँग भिखारीमाथिको रोकको कुनै सम्बन्ध नरहेको बताउँदै आएको छ । तर यसअघि सन् २००० मा पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन आउँदासमेत भिखारीलाई सडकबाट हटाइएको थियो ।

हाल हैदरावादका मन्दिर, रेलवे स्टेशन, बस स्टेशन र ट्राफिक सिग्नलबाट धमाधम भिखारीलाई नियन्त्रणमा लिन थालिएको छ । हालसम्म ३९९ भिखारीलाई नियन्त्रणमा लिइ आनन्द आश्रम पठाइएको छ । तीमध्ये १२८ भिखारीले आश्रममै बस्ने निधो गरेका छन् भने २३८ जनाले अब भिख नमाग्ने प्रण गर्दै घर जाने निधो गरेको बताइएको छ ।

Post Comment